किशोर तामाङ्ग, फागुन ३
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी दिनप्रतिदिन बढ्दै गएको छ। उक्त क्षेत्रबाट १९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। मुख्य प्रतिस्पर्धामा नेकपाकी पूर्वमन्त्री बीना मगर, विप्लव माओवादीका पूर्व सांसद पुरन राना (थारु), पूर्व प्रदेश मन्त्री तथा निर्वतमान सांसद तारालामा तामाङ्ग, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता जनक सिंह धामी तथा कांग्रेस क्षेत्रीय सभापति गोपी प्रशाद उपाध्याय लगायतका उम्मेदवार रहेका छन्।
यद्यपि, चुनावी प्रतिस्पर्धा मुख्यतः बीना मगर, जनक सिंह धामी, गोपी प्रशाद उपाध्याय र तारालामा तामाङ्गबीच केन्द्रित देखिएको छ। यसबीच पूर्व खानेपानी मन्त्री बीना मगरको पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको स्थानीय विश्लेषण छ।
बीना मगरको पक्षमा आफ्नै दलका कार्यकर्तामात्र नभई अन्य दलका नेता–कार्यकर्तासमेत खुलेआम मत मागिरहेका छन्। नेकपा एमाले निकट अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य हिमेश थापा ले समेत सामाजिक सञ्जालमार्फत बीना मगरलाई विजयी गराउन सार्वजनिक अपिल गरेका छन्।
एमालेभित्र टिकट वितरणलाई लिएर असन्तुष्टि देखिएको छ। यसअघि पार्टी उपमहासचिव लेखराज भट्ट ले एमालेबाट कमला बोहरा लाई टिकट दिइएको जानकारी सार्वजनिक गरेका थिए। तर पछि टिकट खोसिएको विषयलाई लिएर महिलामाथि अन्याय भएको भन्दै विरोधसमेत भएको थियो। २०७४ सालमा पनि १(ख) मा मर्यादा विष्ट लाई टिकट दिएर पछि खोसिएको घटना दोहोरिएको स्मरण गरिँदैछ।
यस प्रकारको घटनाले महिलालाई नेतृत्वमा पुर्याउने दाबी गर्ने पार्टीभित्रै असन्तोष बढेको विश्लेषण गरिएको छ। महिला नेतृप्रति भएको व्यवहारप्रति एमालेभित्र मात्रै नभई अन्य दलका महिला नेतृहरू समेत असन्तुष्ट रहेको चर्चा छ।
यसै सन्दर्भमा हिमेश थापाले दोदा नदी नियन्त्रण तथा तटबन्धनलाई मुख्य एजेन्डा बनाउँदै बीना मगरको पक्षमा मत मागेका छन्। उनका अनुसार दोदा नदीको बाढीबाट वर्षौंदेखि प्रभावित क्षेत्रलाई सुरक्षित बनाउन ७ अर्ब रुपैयाँको योजना र पाँच वर्षभित्र कार्यान्वयन गर्ने स्पष्ट रोडम्याप प्रस्तुत गरिएको छ। योजना अन्तर्गत दुबै किनारमा ८४ किलोमिटर पक्की सडक निर्माण, ५०० हेक्टर खेतीयोग्य जमिन संरक्षण तथा सुरक्षित बस्ती विकास गर्ने लक्ष्य राखिएको उल्लेख गरिएको छ।
एमाले निकट युवा विद्यार्थी नेताले नै खुलेर समर्थन गरेपछि अन्य मतदातामाझ पनि बीना मगरप्रति विश्वास बढ्दै गएको आकलन गरिएको छ। कञ्चनपुर–१ मा अब चुनावी परिणाम कता मोडिन्छ भन्ने चासो चुलिँदै गएको छ।
