२८औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न: डिलाइट इङलिस स्कुलको शैक्षिक यात्रामा नयाँ उचाइ

हेमा भट्ट,फागुन ६
धनगढी–८, कैलाली — डिलाइट इङलिस स्कुल को २८औँ वार्षिक साधारणसभा २०८२ भव्य, सभ्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। शिक्षा, संस्कार र सामाजिक उत्तरदायित्वलाई एकसाथ अघि बढाउँदै आएको विद्यालयले यस वर्षको साधारणसभालाई विशेष उपलब्धिमूलक बनाएको छ।
कार्यक्रममा विद्यालयका सभापति तथा संस्थापक संरक्षण बर्दि रिजालको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिका रूपमा टि.सी. जोशीको उपस्थिति रहेको थियो। विशिष्ट अतिथिमा व्यवस्थापक केन्द्रीय उपाध्यक्ष ललित पन्त, वडा नं. ८ का वडा अध्यक्ष जुगराम चौधरी, समाजसेवामा समर्पित तीन जना अग्रज व्यक्तित्व, वरिष्ठ देउडा गायक नरेन्द्र ऐरी, पण्डित ज्योतिष तथा साहित्यकार मनिराज जोशी तथा मानव सेवाका क्षेत्रमा सक्रिय कल्पना भट्ट लगायतको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन विद्यालयका संस्थापक तथा धनगढी नगर अध्यक्षले गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल शंकर खनालले विस्तृत वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक उपलब्धि, अतिरिक्त क्रियाकलाप, भौतिक पूर्वाधार विस्तार, प्रविधिमैत्री शिक्षण पद्धति र आगामी योजनाबारे प्रकाश पार्नुभयो। उहाँले विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यलाई प्राथमिकतामा राख्दै विद्यार्थीको समग्र विकासमा निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो।

प्रमुख अतिथि टि.सी. जोशीले आफ्नो मन्तव्यमा डिलाइट इङलिस स्कुलले धनगढी क्षेत्रमा शिक्षा क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै भन्नुभयो,
“शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुनु हुँदैन, यसले समाज परिवर्तनको आधार तयार गर्नुपर्छ। डिलाइट इङलिस स्कुलले २८ वर्षको यात्रामा शैक्षिक गुणस्तर मात्र होइन, सामाजिक उत्तरदायित्व र संस्कारयुक्त शिक्षाको उदाहरण प्रस्तुत गरेको छ। आगामी दिनमा अझ प्रविधिमैत्री, अनुसन्धानमुखी र व्यवहारिक शिक्षा प्रणाली विकास गर्दै यस क्षेत्रकै नमुना विद्यालय बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु।”

उहाँले शिक्षक, अभिभावक र व्यवस्थापनबीचको सहकार्य नै विद्यालय सफलताको मुख्य आधार भएको उल्लेख गर्दै सामूहिक प्रयासलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

विशिष्ट अतिथि ललित पन्तले विद्यालयको व्यवस्थापन पक्ष सुदृढ भएको बताउँदै पारदर्शिता र दिगोपनलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। वडा अध्यक्ष जुगराम चौधरीले स्थानीय तहको तर्फबाट शैक्षिक विकासमा आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा समाजसेवा, शिक्षा र सांस्कृतिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। शिक्षक, अभिभावक तथा कर्मचारीहरूलाई समेत विद्यालयको उन्नतिमा पुर्‍याएको योगदानका लागि सम्मान गरिएको थियो। वरिष्ठ देउडा गायक नरेन्द्र ऐरीको सांगीतिक प्रस्तुति र शुभकामनाले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।

अभिभावकहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो। अभिभावकहरूले विद्यालयको प्रगति र व्यवस्थापनप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आगामी दिनमा समेत सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

२८ वर्षको निरन्तर शैक्षिक यात्रासँगै डिलाइट इङलिस स्कुलले धनगढी क्षेत्रमा गुणस्तरीय, संस्कारयुक्त र प्रतिस्पर्धी शिक्षा प्रदान गर्ने लक्ष्यलाई अझ सशक्त बनाएको छ। साधारणसभाले विद्यालयको विगतका उपलब्धि समीक्षा गर्दै उज्ज्वल भविष्यतर्फ अग्रसर हुने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply