सेयर बजार उच्च बढ्दा के कुरामा ध्यान दिने?

काठमाडौं, फागुन २६
निर्वाचनपछि सोमबार बजार खुल्दा नेप्से परिसूचक उच्चले बढेर सर्किट ब्रेक लाग्यो। बजारको नियमित कारोबारमा लगानीकर्ताले मुस्किलले तीन मिनेट सेयर कारोबार गर्न पाए।

छोटो अवधि कारोबार हुँदा पनि ५५ करोड रूपैयाँ बराबरको सेयर किनबेच हुन सक्यो।

सोमबार नेप्से परिसूचक १६२ अंक (६ प्रतिशत) ले बढेर २८७५ विन्दुमा पुग्यो। मंगलबार पनि यही दरमा बजार वृद्धि भएमा सजिलै नेप्सेले ३ हजारको तह पार गर्नेछ।

बजार अति उत्साही हुँदा सेयर बजार सूचक केही दिन लगातार बढ्न सक्छ। र, धेरै कम्पनीका सेयर मूल्य पनि छोटो समयमा धेरैले बढ्न सक्छ।

त्यसैले यस्तो समयमा लगानी गर्दा थप संयमित हुनुपर्छ। कम्पनीहरू छनोट गर्दा यी पक्ष ध्यान राखेमा, पछि हुने सम्भावित नोक्सानीबाट कम जोखिम हुनसक्छ।

कम्पनीको नाफा र सेयर मूल्य

सबभन्दा पहिले हेर्नुपर्ने कुरा कम्पनीको नाफा वृद्धि हो।

Premier
नाफा वृद्धिदर कम भएको, सुधार कम भइरहेको वा वित्तीय अवस्थामा सुधार नभइरहेको कम्पनीको मूल्य पनि तीव्र रूपमा बढिरहेको हुन सक्छ। त्यसैले, कम्पनीको नाफा पनि त्यही अनुपातमा बढिरहेको छ कि छैन वा बढ्ने सम्भावना छ कि छैन भन्नेमा ध्यान दिनुपर्छ।

पिई र पिबी अनुपात

बजार बढ्दा धेरै कम्पनीको मूल्य आम्दानी अनुपात (पिई) र मूल्य बुक भ्यालू (पिबी) अनुपात पनि उच्च हुँदै जान्छ।

कुनै कम्पनीको मूल्य सोही क्षेत्रका अन्य कम्पनीभन्दा अत्यधिक उच्च छ भने, लगानीकर्ताले त्यो सेयर महँगो भएको हुन सक्ने संकेतका रूपमा बुझ्नुपर्छ।

मूल्य आम्दानी अनुपातले सेयरको बजार मूल्य र कम्पनीले प्रतिसेयर कमाएको आम्दानी (अर्निङ पर सेयर) बीच तुलना गर्छ।

यदि कुनै कम्पनीको सेयर मूल्य ६ सय रूपैयाँ छ र प्रतिसेयर आम्दानी २२ रूपैयाँ छ भने मूल्य आम्दानी अनुपात २७ गुणा हुन्छ। यो भनेको कम्पनीले कमाएको एक रूपैयाँलाई लगानीकर्ताले २७ रूपैयाँ तिर्न तयार भइरहेका छन् भनेर यसले देखाउँछ। यो अनुपात २० भन्दा माथि भएमा राम्रो मानिन्छ। तर, धेरै उच्च हुँदा मूल्य अधिमूल्यन भएको संकेत गर्छ।

त्यस्तै, पिबी अनुपातले कम्पनीको प्रतिसेयर नेटवर्थ (खुद सम्पत्ति) को तुलनामा सेयर मूल्य दाँज्छ। सेयर मूल्यलाई प्रतिसेयर नेटवर्थले भाग गरेमा यो निस्किन्छ। यसले पनि कम्पनीको सम्पत्तिलाई लगानीकर्ताले कतिसम्म मूल्य हालिरहेका छन् भनेर देखाउँछ।

यी दुई सूचक सेयर मूल्य मूल्यांकनका लागि प्रयोग हुने भए पनि यसैमा मात्र भर पर्न भने हुँदैन। कम्पनीहरूमा भइरहेको सुधार, वित्तीय अवस्थामा हुन सक्ने सुधारले भविष्यमा कम्पनीको प्रतिसेयर आम्दानी र खुद सम्पत्तिमा वृद्धि हुन सक्छ।

अचानक मूल्य वृद्धि

कहिलेकाहीँ बजारमा कुनै स्पष्ट व्यावसायिक कारण बिना सेयर मूल्य अचानक बढ्छ। यस्तो वृद्धि बजारमा हल्ला, अनुमान वा अल्पकालीन उत्साहले भएको हुन सक्छ।

बजारको मनोविज्ञानले पनि मूल्य उच्चले बढाइरहेको हुन सक्छ। अहिले सेयर नकिने भोलिका दिनमा किन्ने अवसर नपाइन सक्छ भन्ने सोचले पनि लगानी भइरहेको हुन सक्छ।

यस्तो समयमा पनि कम्पनीहरूको वित्तीय विवरण, मुलुकको आर्थिक सूचकांक, अन्तर्राष्ट्रिय प्रभाव पनि केलाएर बजारमा लगानी गर्दा दीर्घकालीन लाभ हुन्छ।

त्यसैले समय अन्तरालमा विकसित हुँदै जाने राजनीतिक घटनाक्रम, बजारसँग सम्बन्धित नीतिगत सुधार, बैंकहरूको ब्याजदर, पुँजी उपलब्धता र सूचीकृत कम्पनीहरूको वित्तीय अवस्थामा हुने परिवर्तनका विषयलाई पनि ध्यान दिनुपर्छ।

जोखिम व्यवस्थापन

बजार उच्च भएको बेला सबै लगानी एउटै कम्पनी वा एउटै क्षेत्रमा केन्द्रित गर्नु जोखिमपूर्ण हुन सक्छ। लगानी विविधीकरण गर्दा जोखिम व्यवस्थापन गर्न सकिन्छ।

पहिलेको उच्च मूल्यसँग तुलना गर्ने कि नगर्ने?

कतिपयले सेयर यसअघि पुगेको उच्च मूल्यसँग तुलना गरेर पनि निर्णय गर्छन्। कुनै कम्पनीको सेयर एक समयमा उच्च थियो भने अहिलेको मूल्य सस्तो लाग्न सक्छ। तर, कहिलेकाहीँ मूल्य बढ्दा पनि पहिलेको उच्च मूल्यमा सेयर नपुग्न सक्छ।

पहिले बजारमा देखिएको अत्यधिक उत्साह वा ‘बबल’ का कारण पनि त्यो कम्पनीको मूल्य बढेको हुन सक्छ। तर कम्पनीको व्यावसायिक अवस्थामा भएको परिवर्तनले आम्दानी घटिरहेको हुन सक्छ।

पुँजी बढेको कारण दायित्व समेत बढिरहेको हुन सक्छ। लाभांश क्षमता घटिरहेको हुन सक्छ। अर्थतन्त्र, ब्याजदर र नीतिगत व्यवस्थामा भएको परिवर्तनको कारण सो कम्पनीले पहिले जसरी नै कमाउने अवस्था नबनेको पनि हुन सक्छ।

त्यसैले लगानी रणनीति बनाउँदा यस्ता पक्ष समेत ध्यान दिनुपर्छ। यद्यपि पुरानो मूल्य उपयोगी संकेत बन्न पनि सक्छ।

यस्ता मूल्य कहिले वृद्धिमा प्रतिरोध वा गिरावटमा टेवा बनेर पनि आइरहेका हुन्छन्।

कम्पनीहरूको अवस्थामा राम्रो सुधार छ भने पहिलेको उच्च मूल्यमा रहेको प्रतिरोध सजिलै तोडिन सक्छ। र, अवस्था खस्किँदो छ भने पहिलेको न्यून मूल्यबाट पनि थप घट्न सक्छ।

बजार मूल्यको वृद्धि अन्ततः आधारभूत पक्षहरूकै कारण टिकाउ हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply