दमौली, चैत २८ — तनहुँको सांस्कृतिक धरोहर बोकेको बन्दीपुर र धार्मिक–ऐतिहासिक महत्त्वको व्यास नगरपालिकालाई एउटै सूत्रमा गाँस्दै ‘होमस्टे सर्किट’ निर्माणको काम अगाडि बढाइएको छ। यो पहलले गाउँ–गाउँलाई पर्यटनसँग जोड्दै नयाँ सम्भावनाको ढोका खोलेको छ।
बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाको सहकार्यमा अघि सारिएको ‘बन्दीपुर–केशवटार होमस्टे सर्किट’ ग्रामीण पर्यटनको नविन मोडेलका रूपमा विकसित हुँदैछ। स्थानीय संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यलाई केन्द्रमा राखेर बनाइएको यो अवधारणाले पर्यटकलाई वास्तविक ग्रामीण जीवनको अनुभव दिने लक्ष्य राखेको छ।
एक समय व्यापारिक केन्द्रको रूपमा चम्किएको बन्दीपुर, सदरमुकाम दमौली सरेपछि ओझेलमा परेको थियो। तर अहिले पुनः जीवन्त सांस्कृतिक सङ्ग्रहालयका रूपमा उभिँदै ‘पहाडकी रानी’को पहिचानलाई थप मजबुत बनाइरहेको छ।
बन्दीपुर भ्रमण वर्ष २०२५ को सफलतापछि सन् २०२६ लाई ‘ग्रामीण पर्यटन वर्ष’का रूपमा मनाउने तयारीसँगै यो सर्किटलाई प्राथमिक योजनाका रूपमा अघि बढाइएको हो। करिब ७५ किलोमिटरको चक्रीय मार्गमा फैलिएको यस सर्किटमा १४ वटा होमस्टे र २० भन्दा बढी गाउँ समेटिनेछन्।
गुरुङ, मगर, नेवार, क्षेत्री, ब्राह्मण र दलित समुदायबाट सञ्चालन हुने होमस्टेहरूले विविध संस्कृति, खानपान र जीवनशैलीको अनुभव एकै ठाउँमा उपलब्ध गराउनेछन्। यसले पर्यटन मात्र होइन, स्थानीय आम्दानी र रोजगारीमा समेत उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ।
परियोजना तीन चरणमा अघि बढाइएको छ। प्रारम्भिक चरणमा क्षेत्र अध्ययन र जनचेतना कार्यक्रम सम्पन्न भइसकेका छन् भने आगामी दिनमा ‘गाउँ पर्यटन मार्ट २०८३’ मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्ने योजना छ।
पर्यटकको सहज पहुँचका लागि सफारी जीप सेवा सञ्चालनमा ल्याइएको छ, जसले गाउँ–गाउँसम्म पुग्ने यात्रालाई अझ सरल बनाउनेछ।
यो सर्किटलाई नेपालकै नमुना परियोजनाका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। स्थानीय मौलिकता जोगाउँदै दिगो पर्यटन प्रवर्द्धन गर्ने यो प्रयास सफल भएमा नेपाली ग्रामीण पर्यटनले विश्वसामु नयाँ पहिचान बनाउने विश्वास गरिएको छ। रासस
