घटस्थापनाको साइत सार्वजनिक, चैत ५ बिहान ७:५१ उत्तम

हेमा भट्ट,चैत ४
धनगढी, – नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति ले वि.सं. २०८२ सालको चैते दशैँ (चैत्र दशमी) पर्वअन्तर्गत घटस्थापनाको शुभ साइत सार्वजनिक गरेको छ। समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत जारी गरेको प्रेस विज्ञप्तिअनुसार चैत ५ गते बिहीबार बिहान ०७ बजेर ५१ मिनेटमा उत्तर फर्केर घटस्थापना गर्नु उत्तम समय निर्धारण गरिएको छ।

समितिका अनुसार नेपालीहरूको धार्मिक आस्था र परम्परालाई ध्यानमा राख्दै हरेक वर्षझैँ यस वर्ष पनि विधिपूर्वक शुभ साइत तय गरिएको हो। घटस्थापना हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक अनुष्ठान हो, जसले चैते दशैँको औपचारिक सुरुवात जनाउँछ। यस दिन घरघरमा जमरा राखी देवी दुर्गाको पूजा–आराधना गर्ने परम्परा रहेको छ।

यसै सन्दर्भमा धार्मिक तथा सामाजिक क्षेत्रमा सक्रिय गणेश दत्त पन्त ले घटस्थापनाको महत्वबारे जानकारी दिँदै समाजमा धार्मिक चेतना फैलाउन निरन्तर सक्रिय रहेको बताएका छन्। उनले विशेषगरी दलित तथा विपन्न समुदायका घरघरमा पुगेर निःशुल्क रूपमा पूजा, कथा, कर्मकाण्ड, होम तथा श्राद्धजस्ता धार्मिक सेवा प्रदान गर्दै आएका छन्।

स्थानीयवासीका अनुसार आचार्य पन्तको सेवामूलक कार्यले समुदायमा सकारात्मक प्रभाव पार्दै गएको छ। आर्थिक रूपमा कमजोर परिवारलाई निःस्वार्थ सेवा दिनु उनको विशेषता बनेको छ। समाजका सबै वर्गलाई समान रूपमा धार्मिक अधिकार र पहुँच दिलाउने उनको प्रयास उदाहरणीय मानिएको छ।

उनको सक्रियताले परम्परागत रूपमा उपेक्षित समुदायमा धार्मिक विश्वास र आत्मबल बढाएको स्थानीयहरूको भनाइ छ। साथै, उनले धार्मिक कर्मकाण्डसँगै सामाजिक सद्भाव, समानता र सहयोगको भावना पनि प्रवर्द्धन गर्दै आएका छन्।

चैते दशैँ नजिकिँदै गर्दा घटस्थापनाको शुभ साइत सार्वजनिक हुनुका साथै यस्ता सामाजिक अभियन्ताहरूको योगदानले पर्वलाई अझ अर्थपूर्ण बनाउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply