कञ्चनपुर, ४ चैत्र २०८२ – कञ्चनपुरको बेलौरी नगरपालिकामा केही समयदेखि प्रभावित प्रशासनिक काम पुनः सुचारु हुने संकेत देखिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा अधिकृत ओम प्रसाद उपाध्यायलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको भएदेखि पालिकामा सकारात्मक परिवर्तन सुरु भएको छ।
उपाध्यायले ३ चैतदेखि औपचारिक रूपमा कार्यभार सम्हाल्दै रोकिएका सेवाहरूलाई प्राथमिकतामा राखेका छन्। उनले नागरिकमैत्री, छरितो र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राख्दै प्रशासनलाई पुनः सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनका अनुसार, “पहिलो चरणमा रोकिएका नियमित सेवा सुचारु गर्ने, त्यसपछि पालिकाका सबै शाखाको अवस्था मूल्यांकन गरी सुधार प्रक्रिया अघि बढाइनेछ।”
यसअघि प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर बुढाथोकीविरुद्धको भ्रष्टाचार मुद्दाले प्रशासनिक काम प्रभावित बनाएको थियो। तर नयाँ नेतृत्वसँगै अब अवरोध हट्दै जाने विश्वास गरिएको छ।
स्थानीय तहमा पारदर्शिता र उत्तरदायित्व बलियो बनाउँदै विकासलाई तीव्रता दिने दिशामा यो परिवर्तनलाई महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। नागरिकहरूमा नयाँ आशा जागेको छ—बेलौरी नगरपालिकाले अब सेवा, सुशासन र विकासमा उदाहरणीय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
