वन डढेलो नियन्त्रणमा एकजुटता: सरकार–समुदाय सहकार्यको प्रभावकारी अभ्यास

हेमा भट्ट, चैत ६
कञ्चनपुर – “रुख रोपौं, वन जोगाऔं” भन्ने सशक्त नारासहित वन डढेलो व्यवस्थापन सप्ताह–२०८२ को अवसरमा लालझाडी गाउँपालिका–१, डाँडाविचवा स्थित श्री हरियाली सामुदायिक वन क्षेत्रमा डढेलो नियन्त्रणसम्बन्धी सचेतनामूलक तथा अभ्यासमूलक कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।

वन डढेलो नियन्त्रणमा प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा तीनै तहका सरकार, सामुदायिक वन उपभोक्ता समूह, स्थानीय अगुवा, सुरक्षाकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा वन संरक्षणप्रति सामूहिक जिम्मेवारी र सहकार्यको आवश्यकता झल्किएको थियो।

कार्यक्रमअन्तर्गत अन्तरक्रिया, अग्निरेखा सरसफाइ तथा नियन्त्रित आगो (Control Burning) सम्बन्धी व्यवहारिक अभ्यास सञ्चालन गरिएको थियो। सहभागीहरूले डढेलो नियन्त्रणका वैज्ञानिक, सुरक्षित तथा दिगो उपायहरूबारे प्रत्यक्ष अभ्यासमार्फत ज्ञान हासिल गरेका थिए। यसले वन क्षेत्रमा आगलागी हुन नदिन तथा फैलिएको आगो नियन्त्रण गर्न समुदायस्तरमै क्षमता विकास भएको विश्वास गरिएको छ।

श्री हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष घुम्न रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा CFCC मोहना कैलालीका उपाध्यक्ष तथा सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरीले वन डढेलो न्यूनीकरणका लागि दिगो वन व्यवस्थापन, संरक्षण र सदुपयोग अपरिहार्य रहेको धारणा व्यक्त गरे।
उनले भने, “वन केवल प्राकृतिक सम्पत्ति मात्र होइन, यो हाम्रो भविष्यको आधार हो। यसको संरक्षणमा सबैको सक्रिय सहभागिता अनिवार्य छ।”

कार्यक्रममा विभिन्न सामुदायिक वनका प्रतिनिधि, पदाधिकारी, समाजसेवी, बुद्धिजीवी तथा उपभोक्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले वन डढेलो नियन्त्रणसम्बन्धी चेतना गाउँ–गाउँमा फैलाउने र व्यवहारमै कार्यान्वयन गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।

त्यसैगरी, कार्यक्रमको विशिष्ट अतिथिका रूपमा लालझाडी सब–डिभिजन वन कार्यालयअन्तर्गतका वन कर्मचारीहरूको उपस्थिति रहेको थियो। उनीहरूले प्राविधिक सहयोग तथा आवश्यक मार्गदर्शन प्रदान गरेका थिए।

कार्यक्रममा सयौं उपभोक्ताको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक तथा सामुदायिक वनका लेखा परीक्षण समिति संयोजक मदन रानाले गरेका थिए भने समापन अध्यक्ष घुम्न रानाले गरेका थिए।

यस प्रकारका अभ्यासमूलक तथा सहभागितामूलक कार्यक्रमहरूले वन संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै दिगो वातावरण निर्माणमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply