धनगढी — सुदूरपश्चिमको गौरवपूर्ण परियोजना फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माणले नयाँ गति लिने संकेत देखिएको छ। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यस परियोजनालाई सरकारको उच्च प्राथमिकतामा राखिएको स्पष्ट पार्दै निर्माणमा आवश्यक सहयोग गर्ने दृढता व्यक्त गरेका छन्।
शनिबार भएको भेटघाटमा रंगशाला निर्माण समितिका अध्यक्ष सुवाश शाहीले हालसम्मको प्रगति प्रस्तुत गर्दै आगामी बजेटमा परियोजनालाई प्राथमिकता दिन आग्रह गरेका थिए। उनले डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन (EIA) जस्ता महत्त्वपूर्ण प्राविधिक काम सम्पन्न भइसकेको जानकारी पनि दिए।
मुख्यमन्त्री शाहले फाप्लालाई सुदूरपश्चिमको “गेमचेञ्जर” परियोजनाको रूपमा व्याख्या गर्दै आवश्यक बजेट व्यवस्थापनका लागि संघीय सरकारसँग समेत समन्वय गर्ने प्रतिबद्धता जनाए। उनका अनुसार, प्रदेश सरकारले परियोजनालाई गति दिन कुनै कसर बाँकी राख्ने छैन।
करिब ११ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस महत्वाकांक्षी योजनाले धनगढीलाई खेलकुदको नयाँ केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
