हेमा भट्ट, चैत ७,
कञ्चनपुर – कृष्णपुर नगरपालिका-९, साबिक वडा नं. ७ मा रहेको ऐतिहासिक राजघाट खेलमैदान लामो समयदेखि ओझेलमा परिरहेको थियो। तर अब स्थानीय युवा, सरोकारवालाहरू र सरकारको सहकार्यले यसलाई ‘नमुना खेलमैदान’ बनाउन पहल सुरु गरेको छ।
राजघाट युवा क्लबको आयोजनामा आयोजित भव्य कार्यक्रममा स्थानीय सरकार, युवा, शिक्षक, बुद्धिजीवी, समाजसेवी, खेलाडी तथा बालबालिकाहरूको उल्लेखनीय उपस्थितिले यसको महत्व झल्काएको थियो। कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष चन्द्रबहादुर साउदले गरेका थिए भने नगर प्रमुख हेमराज ओझा प्रमुख अतिथि र वडा नं. ९ का अध्यक्ष कैलाश बलायर विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रमको मुख्य एजेन्डा खेलमैदानको संरक्षण, अतिक्रमण हटाउने र यसलाई व्यवस्थित तथा नमुना खेलमैदानको रूपमा विकास गर्ने विषयमा केन्द्रित थियो।
स्थानीय युवा खेलाडी तथा बालबालिकाले दिनप्रतिदिन बढ्दो अतिक्रमणप्रति चिन्ता व्यक्त गर्दै खेलमैदानको संरक्षण र विकासमा स्थानीय सरकारको सक्रिय भूमिका माग गरे। उनीहरूले पुरानो र ऐतिहासिक खेलमैदान अझैसम्म ओझेलमा परेको गुनासो गर्दै तत्काल सुधार र सहयोगको अपेक्षा राखे।
वडा अध्यक्ष कैलाश बलायरले भने, “विकास प्रक्रिया निरन्तर भइरहेको छ। बजेटको सीमाभित्र रहेर विभिन्न क्षेत्रमा काम भइरहेको छ। राजघाट खेलमैदानमा देखिएको अतिक्रमण समस्या समाधानका लागि स्थानीय बासिन्दा, युवा र जमिनदाताबीच सहकार्य आवश्यक छ। छलफल, सहमति र सहकार्यबाट मात्र दीगो समाधान सम्भव छ। स्थानीय सरकार स्रोत र साधनका आधारमा यस खेलमैदानको विकासमा निरन्तर सहयोग गर्नेछ।” उनले थपे कि निकट भविष्यमा कल्मटदेखि माटो भरान कार्य सुरु गरिने छ।
नगर प्रमुख हेमराज ओझाले विकासका लागि स्थानीय एकता अपरिहार्य भएको धारणा राख्दै भने, “शिक्षा, स्वास्थ्य र पूर्वाधारसँगै खेलकुद क्षेत्रको विकासमा पनि नगरपालिकाको ध्यान छ। विवादित वा अतिक्रमण भएका जग्गाको समाधान स्थानीय स्तरमै सहमति र सहकार्यबाट गर्नुपर्छ। त्यसपछि नगरपालिका पूर्ण रूपमा सहयोग गर्न तयार छ।” उनले नगरपालिकाले खेलमैदानको नक्सा उपलब्ध गराउने र झुलुङ्गे पुल निर्माण कार्य पनि छिट्टै सुरु गर्ने जानकारी दिए।
कार्यक्रममा बाल खेलाडी ओमप्रकाश ओझाले स्थानीय सरकारप्रति प्रश्न उठाउँदै भने, “अन्य ठाउँका खेलमैदानमा तारबार, भवन र खेल सामग्री वितरण भइरहेको छ, तर हाम्रो खेलमैदान किन पछाडि परेको छ?” उनले खेलाडीहरूले अहिलेसम्म कुनै सहयोग पाएको नभएको गुनासो पनि राखे।
राजघाट खेलमैदान प्राकृतिक रूपमा रमणीय क्षेत्रमै अवस्थित छ र स्थानीयहरूको भनाइ अनुसार यो क्षेत्रकै सबैभन्दा पुरानो खेल मैदान हो। तर पर्याप्त ध्यान नपाउँदा लामो समयसम्म ओझेलमा रहँदै आएको थियो।
अहिले भने स्थानीय सरकारको प्रतिबद्धता, युवाहरूको सक्रियता र समुदायको सहकार्यसँगै यस खेलमैदानको पुनर्जीवनको आशा पलाएको छ। आगामी दिनमा कल्मटदेखि माटो भरान, झुलुङ्गे पुल निर्माण, खेल संरचना र सुविधाहरूको विकाससँगै राजघाट खेलमैदान क्षेत्रकै नमुना खेलमैदान बन्ने अपेक्षा गरिएको छ।
यस पहलले स्थानीय युवा र बालबालिकालाई खेलकुद गतिविधिमा संलग्न गराउँदै स्वास्थ्य, अनुशासन र समुदायसँगको सम्बन्ध बलियो बनाउने विश्वास लिएको छ। स्थानीय सरकार र युवा समुदायबीचको यो सहकार्यले कञ्चनपुरमा खेलकुद र सामाजिक विकासका लागि नयाँ उदाहरण प्रस्तुत गरेको छ।

brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 42;
