हेमा भट्ट चैत १७
कञ्चनपुर, महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै आज पहिलोपटक परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। नवगठित समितिका अध्यक्ष महेश पन्तको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा अस्पतालका चिकित्सक, कर्मचारी, व्यवस्थापन समिति सदस्य, पत्रकार तथा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा अस्पतालका वरिष्ठ चिकित्सक डा. जगदीश जोशीले नयाँ समिति चयन भएपछि अस्पतालको सेवा, व्यवस्थापन र सुधारका विषयमा खुला छलफलको आवश्यकता औंल्याउँदै सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले अस्पतालले विगतदेखि नै २४सै घण्टा सेवा दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रवाहमा जोड दिनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रमका प्रमुख वक्ता तथा अध्यक्ष महेश पन्तले आफ्नो लामो मन्तव्यमा अस्पतालको समग्र सुधार, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि र जनगुनासो न्यूनिकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने,“महाकाली प्रादेशिक अस्पताल केवल उपचार गर्ने थलो मात्र होइन, जनताको विश्वासको केन्द्र पनि हो। त्यसैले यहाँ आउने प्रत्येक सेवाग्राहीले सहज, छिटो र गुणस्तरीय सेवा पाउने वातावरण निर्माण गर्नु हाम्रो पहिलो दायित्व हो। जनगुनासो नआउने अवस्था सिर्जना गर्न हामी सबैको सहकार्य अत्यावश्यक छ।”


अध्यक्ष पन्तले अस्पतालमा सरसफाइ व्यवस्थापन, स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, कर्मचारीको मनोबल अभिवृद्धि, र आधुनिक प्रविधिको प्रयोगमार्फत सेवा सुधार गर्न विशेष ध्यान दिइने बताए। उनले थपे,“हामी सेवा दिने निकाय हौँ, सेवामा कुनै सम्झौता हुन सक्दैन। डाक्टर, नर्स, कर्मचारी सबैले जिम्मेवारी बोधका साथ काम गर्दा मात्र अस्पतालप्रति जनविश्वास अझ बलियो बन्न सक्छ। हामी सबैले सहकार्य र सकारात्मक सोचका साथ अघि बढेमा यो अस्पताल प्रदेशकै उत्कृष्ट स्वास्थ्य संस्था बन्न सक्छ।”
कार्यक्रममा सहभागी पत्रकार तथा बौद्धिक व्यक्तित्वहरूले पनि अस्पतालको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए। उनीहरूले विशेषगरी सेवाग्राहीमैत्री व्यवहार, पारदर्शिता, समयमै उपचार तथा सरसफाइमा ध्यान दिनुपर्ने विषय उठाएका थिए।
छलफलका क्रममा अस्पतालमा देखिएका केही चुनौतीहरू, जनगुनासोका कारणहरू र तिनको समाधानका उपायहरूबारे पनि खुलेर विचार आदानप्रदान गरिएको थियो। सहभागीहरूले स्वास्थ्य सेवा क्षेत्रमा सुधार ल्याउन केवल व्यवस्थापन मात्र नभई सबै सरोकारवालाको साझा प्रयास आवश्यक हुनेमा जोड दिएका थिए।
कार्यक्रमले नयाँ समितिप्रति आशा र विश्वास जगाउँदै आगामी दिनमा महाकाली प्रादेशिक अस्पताललाई अझ व्यवस्थित, गुणस्तरीय र सेवामुखी बनाउने दिशामा सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।

