रिलिशा राजवंशी, चैत २०
बाँके – “कृषि, प्राकृतिक सम्पदा, कला संस्कृतिको संरक्षण, उद्योग व्यापारको पर्यटन प्रवर्द्धन हाम्रो अभियान; आत्मनिर्भर, एकता र संयम नगरको निर्माण राप्तीसोनारीको पहिचान” भन्ने सशक्त मूल नारासहित दोस्रो राप्तीसोनारी कृषि, पर्यटन, व्यापारिक तथा साँस्कृतिक महोत्सव-२०८२/०८३ आयोजना हुने भएको छ।
राप्ती सोनारी गाउँपालिका-५, चिलहरिया, बाँकेमा आगामी २०८२ साल चैत २७ गतेदेखि २०८३ साल वैशाख ६ गतेसम्म सञ्चालन हुने यस महोत्सवले स्थानीय स्तरमै आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको आधार तयार गर्ने अपेक्षा गरिएको छ।
महोत्सवको पूर्वतयारीस्वरूप आयोजित पत्रकार सम्मेलनमा आयोजकले कार्यक्रमको उद्देश्य, तयारी र अपेक्षित उपलब्धिबारे विस्तृत जानकारी दिँदै स्थानीय उत्पादन, कृषि उद्यम, पर्यटन प्रवर्द्धन र सांस्कृतिक पहिचानलाई एउटै मञ्चमा जोड्ने लक्ष्य स्पष्ट पारेको छ।
आयोजक संस्था सृजना युवा स्पोर्ट क्लबका अध्यक्ष जमानसिंह खत्रीले महोत्सव केवल उत्सव नभई राप्तीसोनारीको समग्र विकासको अभियान भएको उल्लेख गरे। “स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, साना तथा मझौला व्यवसायलाई प्रवर्द्धन गर्ने र युवालाई उद्यमशीलतातर्फ प्रेरित गर्ने हाम्रो मुख्य उद्देश्य हो,” उनले बताए।
कार्यक्रममा क्लबका सचिव नरेश बुढा मगर, कोषाध्यक्ष तिर बहादुर घर्ती, उपाध्यक्ष बिमला बुढा लगायत सदस्यहरू रेग बहादुर खड्का, बिमला बोहरा, रामदयाल थारु र गुप्तबहादुर बुढाको सक्रिय सहभागिता रहेको थियो। साथै बुद्धिजीवी कलाधर अधिकारी, सल्लाहकारहरू निर्मल घर्ती, सविन पुन, रमन पुन, समाजसेवीहरू रामबहादुर रावत र गोविन्दप्रसाद थारु तथा स्थानीय पत्रकारहरूको उल्लेख्य उपस्थिति देखिएको थियो।
महोत्सव अवधिभर विभिन्न आकर्षक तथा सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। विशेषगरी डान्स आइडल प्रतियोगिता, कृषि तथा हस्तकला प्रदर्शनी, स्थानीय तथा बाह्य व्यापारिक स्टलहरू, सांस्कृतिक झाँकी, लोकदोहोरी प्रस्तुति र मनोरञ्जनात्मक गतिविधिहरूले महोत्सवलाई थप जीवन्त बनाउने आयोजकको विश्वास छ।
महोत्सवको संरक्षण राप्ती सोनारी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, अगैया, बाँकेले गरेको छ भने वडा नं. ५ कार्यालय सह-आयोजकको रूपमा रहेको छ। मुख्य आयोजकका रूपमा श्री न्यू सृजना युवा स्पोर्टस् क्लब, राप्तीसोनारी-५ ले सम्पूर्ण तयारीलाई तीव्रता दिएको जनाएको छ।
आयोजकका अनुसार, यस महोत्सवले स्थानीय उत्पादनलाई राष्ट्रिय स्तरसम्म पहिचान दिलाउने, पर्यटन क्षेत्रलाई गतिशील बनाउने र कला-संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउनेछ। साथै, समुदायभित्र एकता, सहकार्य र आत्मनिर्भरता अभिवृद्धि गर्दै समृद्ध राप्तीसोनारी निर्माणतर्फ ठोस कदम सावित हुने विश्वास गरिएको छ।
समग्रमा, राप्तीसोनारीमा आयोजना हुन लागेको यो महोत्सव केवल मनोरञ्जनको माध्यममा सीमित नरही आर्थिक समृद्धि, सांस्कृतिक संरक्षण र सामाजिक एकताको सशक्त अभियानका रूपमा स्थापित हुने देखिन्छ। स्थानीय ऊर्जा, सीप र सम्भावनालाई उजागर गर्दै आत्मनिर्भर नगर निर्माणतर्फको यो पहल साँच्चिकै प्रेरणादायी र दूरगामी महत्व बोकेको छ।
