घट्न रोकिँदैछ सेयर बजार, किन?

चैत २५
२०७८ भदौमा नेप्से हालसम्मको उच्च विन्दु ३१९८ पुगेर घटेयता ६ पटकसम्म ३००० विन्दु छुने प्रयासमा ‘स्विङ’ गरेको छ।

यस्तो स्विङमा नेप्से दुई पटक बाहेक अन्य समयमा २० प्रतिशतभन्दा कमले घटेर फर्किएको देखिन्छ।

सेयर बजारमा सामान्यतया बजार नजिकको विन्दुबाट २० प्रतिशतले घटे बियरिस र २० प्रतिशतले बढे बुलिस प्रवृत्तिमा गएको मानिन्छ।

के त्यसो भए नेपाली सेयर बजारमा यो मान्यताले काम गरिरहेको हो त?

त्यसअगाडि यो अवधिका केही ठूला उतारचढाव हेरौं।

२०७८ भदौपछि मंसिरमा पहिलो पटक नेप्से २० प्रतिशतभन्दा धेरै घट्यो र २२०० विन्दु आसपास आयो। यो २१ प्रतिशतको गिरावट थियो।

तर बियरिस र बुलिसको सिद्धान्त धेरैले पत्याएनन्। त्यसैले सो लगत्तै बढ्दै फेरि नेप्से २९०० विन्दुसम्म पुग्यो।

यसपछि भने त्यहाँबाट घटेको बजार १८४८ विन्दुसम्म आयो। यो करिब ३७ प्रतिशतको गिरावट थियो। योसँगै बजार लामो समय बियरिस प्रवृत्तिमा रह्यो।

२०८१ असारमा बजारको प्रवृत्ति फेरियो। सो समय २००० विन्दु आसपास रहेको नेप्से २९६६ विन्दुसम्म पुग्यो। त्यसयता बजारमा अहिलेसम्म चार वटा ठूला उतारचढाव देखिएका छन्। तर कुनै पनि पटक नेप्से २० प्रतिशतसम्म घटेन।

त्यसो भए बजारले के यो नियम मानिरहेको हो?

२० प्रतिशतको उतारचढाव बजारबारे सामान्य बुझाइ बनाउन काम लाग्ने भए पनि यो मात्र होइन, कुनै पनि नियमले शतप्रतिशत नै काम गर्छ भन्ने नहुने सेयर विश्लेषकहरू बताउँछन्।

बजारको उतारचढाव हेर्न अन्य महत्त्वपूर्ण मानिने प्राविधिक विश्लेषणहरूको पनि सहयोग लिनुपर्ने उनीहरूको भनाइ छ।

केही दिनअघि पनि बजार एकोहोरो घट्दा धेरै लगानीकर्ताहरूले बजार निकै तलसम्म ओर्लिने आकलन गर्न थालेका थिए।

सो समय बजार २९६९ बाट घटेर २६७६ विन्दुसम्म आइपुगेको थियो। यो क्रममा नेप्से करिब १० प्रतिशत घटेको थियो।

अहिले बजार केही थामिने क्रममा छ। नेप्से फेरि २७५७ विन्दुमा छ।

यस पटकको उतारचढावमा व्यवसायी पक्राउको घटनासँगै घटेको बजार अर्थमन्त्रीका सकारात्मक भनाइ आएसँगै सुधार हुने प्रयासमा देखिएको थियो। यही कारण सोमबार बजार बढ्यो।

तर नेप्सेको प्रवृत्ति अझै स्पष्ट भएको छैन। यसलाई मंगलबार नेप्सेमा भएको उच्च उतारचढावले पनि स्पष्ट पार्छ।

मंगलबार दुवैतर्फ लामो धागो र सानो शरीर भएको दोजी स्टार आकृति बनेको छ।

यसले बजार प्रति लगानीकर्ताहरूमा अझै अन्योल नै रहेको संकेत गर्छ।

यसबीच याद गर्नुपर्ने कुरा भनेको, अहिले पनि नेप्सेको २०० दिने मुभिङ एभरेज रेखाभन्दा माथि नै ५० दिने रेखा छ। यी दुई रेखाबीच दुरी कायमै छ। यसले बजारमा बुलिस प्रवृत्ति कायमै रहेको संकेत गरिरहेको छ।

अझै पनि सेयर बजारको दिशा स्पष्ट भएको छैन। न्यून ब्याजदर, बैंकिङ प्रणालीमा पर्याप्त तरलता, कम्पनीहरूको अवस्थामा खासै फरक नआएको लगायत अन्य कारण यथावत छन्।

सरकारले आगामी दिनमा व्यवसायी धरपकडका घटना नगर्ने अर्थमन्त्रीले आश्वासन दिएका छन्। त्यसैले लगानीकर्ताहरू केही सम्हालिएका छन्।

यी घटनामा सरकारको प्रवृत्ति अझै स्पष्ट हुँदै जाँदा बजारले स्पष्ट प्रवृत्ति संकेत गर्न सक्छ।

अहिले सरकारले बिदा अवधि बढाउन, इन्धन खपत कम गर्न सुझाव दिने गरिरहेको छ। इन्धनको भाउमा उतारचढाव आइरहेकाले लगानीकर्ताहरू तत्कालै लगानीका लागि आकर्षित नहुन सक्छन्।

यी पक्ष मनन गरेर नै बजारमा लगानी रणनीति बनाउनु उपयुक्त हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply