हेमा भट्ट, चैत २९
कञ्चनपुरमा प्रहरीले अपराध नियन्त्रण र सामाजिक न्याय स्थापना गर्न सक्रियता बढाएको छ। हालै दुई फरक घटनामा प्रहरीले शीघ्र अनुसन्धान गर्दै दोषीलाई नियन्त्रणमा लिएको छ, जसले स्थानीयमा सुरक्षा र विश्वासको भावना थप बलियो बनाएको छ।
मिति २०८२ चैत २२ गते राति भीमदत्त नगरपालिका-४, महेन्द्रनगरस्थित मदनचोकमा रहेका दुई पसलमा चोरी भएको थियो। दिपक बहादुर ठकुराठीले सञ्चालन गरेको प्यामस चाउमिन सेन्टरबाट रु. ३६,००० र ललिता जोशीको रोशनी सु-सेन्टरबाट रु. ३०,००० नगद चोरी भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। सोही क्रममा घटनामा संलग्न तीन जनालाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको छ।
त्यसैगरी, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी अर्को घटनामा पनि प्रहरीले गम्भीरता देखाएको छ। मिति २०८२ चैत १७ गते सामुदायिक वन क्षेत्रबाट बरामद गरिएको काठको विषयलाई लिएर विवाद हुँदा एक व्यक्तिमाथि जातीय अपमान, गालीगलौज तथा सामाजिक बहिष्कारजस्ता अमानवीय व्यवहार गरिएको भन्दै पीडितले चैत २४ गते जाहेरी दिएका थिए। सोही आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको छ।
यी दुवै घटनामा प्रहरीले देखाएको तत्परता र निष्पक्ष अनुसन्धानले अपराध न्यूनीकरणसँगै सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण सन्देश दिएको छ। स्थानीय बासिन्दाले पनि प्रहरीको सक्रिय भूमिकाको प्रशंसा गर्दै यस्ता कदमले समाजमा शान्ति र सुरक्षा थप मजबुत हुने विश्वास व्यक्त गरेका छन्।
