चैत ३०
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार दुवै खेलमा कीर्तिमानी ब्याटिङ भएको छ।
वीरगञ्जमा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले मधेश प्रदेशविरूद्ध ३९० रन बनाएको केहीबेरमा जनकपुरमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशविरूद्ध ८ विकेटको क्षतिमा ३६२ रन बनाएको छ।
सशस्त्रले बनाएको योगफल प्रधानमन्त्री कप इतिहासको सर्वाधिक रन हो। उसका लागि आसिफ शेखले २०८ रन बनाएका थिए।
यता टस हारेर पहिले ब्याटिङ गरेको आर्मीका लागि पनि कप्तान विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गरे।
भण्डारीले १५० बलमा २१ चौका र ५ छक्काको मद्दतमा १८९ रन बनाए। भण्डारीले यो संस्करणमा दोस्रो शतक प्रहार गरेका हुन्।
भण्डारीको शतकमा आर्मीले बनाएको ३६२ रन प्रधानमन्त्री कपको दोस्रो सर्वाधिक रन हो।
आर्मीका लागि भण्डारीबाहेक भीम सार्कीले पनि ८० रन बनाए। उनले ६५ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।
