काठमाडौँ, वैशाख ५ गते । झापाको भद्रपुरमा जङ्गली हात्तीले स्थानीय किसानहरूको मकैबालीमा क्षति पुर्याएको छ ।
शुक्रबार राती भद्रपुर नगरपालिका–३, रङ्गेडाँडास्थित कालिका मन्दिर सामुदायिक वनबाट आएको जङ्गली हात्तीले वडा नं. ४ का स्थानीय हीरालाल राईले लगायतका किसानले लगाएको मकैबाली नष्ट पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार राईले लगाएको करिब १० कट्ठा जमिनमा लगाइएको मकैबाली हात्तीले खाएर तथा कुल्चिएर नष्ट गरेको छ । यसबाट करिब एक लाख रुपियाँ बराबरको क्षति भएको पाइएको खड्काले जानकारी दिनुभयो ।
अन्य आसपासका किसानहरूको पनि मकैबाली हात्तीले नष्ट गरेको स्थानीयहरूले बताएका छन् । पछिल्लो समय जङ्गली हात्ती बस्ती नजिक आउने क्रम बढ्दै गएको र बालिनाली जोगाउन मुश्किल बन्न थालेका स्थानीयले जनाएका छन् । मकै थन्काउने मौसममा हात्तीहरू हुलका हुल आउने गरेका छन् ।
