काठमाडौँ- कवियत्री अनुशा शर्मा सुवेदीद्वारा लिखित कविताकृति पोइटिक डायस्पोरामाथि परिचर्चा गरिएको छ। ललितपुरको हात्तिबनमा आयोजित विशेष समारोहबीच उक्त कृतिमाथि समीक्षा गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्राडा अरूण गुप्तोले कविताका शब्दहरू निकै चिन्तनशील रहेको बताएका छन्। अंग्रेजी भाषामा लेखिएका १३० वटै कविता निकै शक्तिशाली रहेको उनले बताए। उनले लेखकको कुनै विषयलाई समातेर शब्दमा खेल्न सक्ने क्षमता र शाब्दिक परिकल्पनाशक्ति निकै बलियो रहेको बताए।
यस्तै कवि समीक्षक केशव सिग्देलले अनुशाका कविता उच्च कोटिका भएको बताए। ‘शब्द-शब्दमा गहन अर्थ मीठो सिल्पिमा बाँधिएका छन्। खुट्किलावद्ध शैलीले पाठकलाई नतानी रहन सक्दैन। कवितामा भक्तिधारामा प्रवाहित छन्। कविता पढ्दा कविभित्रको स्वतन्त्रताको चिन्तन प्रस्टरुपमा छचल्किन्छ,’ उनले भने।
यस्तै अर्का समीक्षक महेश पौडेलले अनुशाका कवितामा जीवन र जगतलाई हेर्ने आयु रहेको बताए। उनले मेडिटेसनको काम गर्ने सामर्थ्य कवितामा रहेको धारणा राखेका थिए। आफूले कवितामा प्रसस्तै बाल मनोविज्ञानसमेत पाएको पौडेलको भनाइ थियो।
त्यसैगरी कवि सरला केसीले पनि अनुशाका कवितामा शक्तिशाली भाव रहेको बताएकी थिइन्। ‘मलाई उहाँका कविता पढ्दा कुनै सितल छहारिमा बसेजस्तै भान भएको छ। शब्दमा शक्ति र भावमा ओज छ। भावनात्मक कसीमा पाठकलाई बाध्न सक्ने सामर्थ्य कविताले राख्दछन्,’ उनले भनिन्।
यस्तै कवि लेखक राजीव श्रेष्ठले अनुशाका कवितामा जीवनको अनुभूति पाएको प्रतिक्रिया दिएका थिए। ‘उहाँका कविता आफ्नै जीवन भोगाइबाट निस्किएका प्रतिछायाँ जस्ता छन्। म उहाँसँग सँगै काम गर्ने भएकाले नजिकबाट चिनेको छु। उहाँ आफैँमा आध्यात्मिक व्यक्ति हो। शिव भक्तिमा उहाँ चरम आनन्द प्राप्त गर्नुहुन्छ। त्यसैले उहाँका कवितामा अध्यात्मिक रससमेत रहेको छ,’ उनले भने।
आफूलाई बुझ्न सकियो भने महिलाले समाजमा कसरी बलियो भूमिका निर्वाह गर्न सक्छन् भन्ने सन्देश अनुशाका कवितामा रहेको उनले बताए। उनले कविता पढ्दा अध्यात्मभावसँगै राष्ट्रभावसमेत छचल्किएको आफूले पाएको बताए।
कार्यक्रममा पत्रकार कविरलेखक दीपक सापकोटाले अनुशाका केही कविता बाचन गरेका थिए। पत्रकार एवं साहित्यकार राज सरगमले सहजकर्ताको भूमिका निर्वाह गर्दै अनुशासँग कृतिका बारेमा संवाद गरेका थिए। त्यसक्रममा अनुशाले आफूले शब्दमा भन्न सकेका कुरा कविताका माध्यमबाट अभिव्यक्त गरेको बताइन्।
‘मैले विभिन्न कारणले परिवारसँग टाढा रहनु पर्दाका अनुभूति कवितामा समेटेकी छु। आफ्ना भन्न नसकेका भाव कविताका माध्यमबाट व्यक्त गरेकी छु। यो कृति प्रकाशनका लागि मेरो परिवारको ठूलो साथ छ,’ उनले भनिन्।
उनले आफूमा प्रकृति प्रेम र शिव भगवानप्रति बढी भक्तिभाव रहेको बताएकी थिइन्। उक्त कार्यक्रममा लेखक तथा बाल गीतकार रामबाबु सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।


