केशव थापा
कञ्चनपुर, ६ वैशाख
अन्तरपुस्ताबीच सद्भाव अभिवृद्धि गर्दै नयाँ पुस्तामा जेष्ठ नागरिकप्रति नैतिक जिम्मेवारी विकास गर्ने उद्देश्यले कञ्चनपुरमा ‘बुढ्यौली शिक्षा’ कार्यक्रम सञ्चालन गरिएको छ।
पछिल्ला वर्षहरूमा नयाँ र पुराना पुस्ताबीचको दूरी बढ्दै जाँदा जेष्ठ नागरिक विभिन्न समस्यामा पर्न थालेपछि राष्ट्रिय जेष्ठ नागरिक महासंघले सातै प्रदेशमा यस्तो कार्यक्रम विस्तार गर्ने तयारी गरेको हो। महासंघकी वरिष्ठ उपाध्यक्ष शारदा चन्दका अनुसार जेष्ठ नागरिक र विद्यालयका विद्यार्थीबीच अन्तरक्रिया गराई अनुभव र मूल्यहरूको आदान–प्रदान गरिएको छ। कार्यक्रम सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरबाट सुरु गरिएको हो।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा अन्तरपुस्ताबीच संवादमार्फत नयाँ पुस्तामा सम्मान, सद्भाव र नैतिकता विकास गर्ने लक्ष्य राखिएको छ। चन्दले अध्ययन तथा रोजगारीका लागि युवापुस्ता घर–परिवारदेखि टाढा जाँदा घरमा रहेका जेष्ठ नागरिकको हेरचाहमा कमी आएको उल्लेख गरिन्।
“देशभर करिब ३० लाख जेष्ठ नागरिक छन्, ८५ हजार स्वयंसेवकमार्फत पनि सद्भाव फैलाउने प्रयास गरेका छौं,” उनले भनिन्, “जेष्ठ नागरिकसम्बन्धी ऐन आए पनि व्यवहारमा समस्या उस्तै छन्।”
महासंघका केन्द्रीय अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले समाज निर्माणमा महत्वपूर्ण योगदान दिएका जेष्ठ नागरिक आज उपेक्षा र एक्लोपनको समस्यामा परेको बताए। “आजका बालबालिका नै भोलिका जेष्ठ नागरिक हुन्, त्यसैले अहिलेबाटै नैतिक शिक्षा आवश्यक छ,” उनले भने। उनले अन्तरक्रियाबाट प्राप्त सुझावका आधारमा जेष्ठ नागरिकका हकअधिकार संरक्षणका लागि सरकारलाई नीति सुझाव दिने पनि बताए।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. हेमराज पन्तले समाजको दिगो विकासका लागि जेष्ठ नागरिकप्रति सम्मान र सहकार्य अनिवार्य रहेको औंल्याए। उनले अघिल्लो पुस्ताले समाजका लागि गरेको योगदानको कदर गर्न अहिलेको पुस्तालाई आग्रह गरे।
कार्यक्रममा विभिन्न वक्ताहरू—सल्लाहकार सत्यप्रसाद मोहपाल, महिला अगुवा नारा जोशी, उपप्राध्यापक दिपकचन्द्र भट्ट र सामाजिक अगुवा प्रेम शर्मा—ले जेष्ठ नागरिकलाई समाजका आधारस्तम्भका रूपमा सम्मान गर्नुपर्नेमा जोड दिएका थिए।
विद्यार्थीहरूले पनि कार्यक्रमबाट जेष्ठ नागरिकप्रति व्यवहारिक सम्मान आवश्यक रहेको अनुभूति भएको बताएका छन्। विद्यार्थी रविराम लुहारले “घरबाटै मायाममता सुरु हुनुपर्छ” भने, भने छात्रा पदमा पन्तले “जेष्ठ नागरिकको स्याहार–सुसारले पुस्तान्तरणीय शिक्षा कायम रहन्छ” भनीन्।
कार्यक्रममा विद्यार्थी, जेष्ठ नागरिक तथा सरोकारवाला निकायको उल्लेख्य सहभागिता रहेको थियो।
