ओमानमाथि नेपाल ‘ए’ को सानदार जित, शृङ्खला बराबरीमा टुङ्गियो

काठमाडौँ, वैशाख ११ गते । नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ । ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले शुक्रबार मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा जित निकाल्दै दुई खेलको शृङ्खला १–१ को बराबरीमा गरेको हो ।

यसअघि बिहीबार भएको पहिलो खेलमा ओमानले नेपाल ‘ए’ लाई ७० रनले पराजित गरेको थियो । विश्वकप लिग–२ को तयारीमा रहेको ओमानले नेपाल ‘ए’ सँग अभ्यास खेल खेलेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८४ रनको बलियो योगफल तयार पारेको थियो । नेपालका लागि ‘प्लेयर अफ द म्याच’ इशान पाण्डेले ७८ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६९ रनको योगदान दिनुभयो । यस्तै, देव खनालले ९५ बलमा ६४ रन र कुशल मल्लले ३२ बलमा ५७ रनको आक्रामक पारी खेल्नुभयो । ओमानका जितेनकुमार रमानन्दीले २ विकेट लिनुभयो ।

२८५ रनको लक्ष्य पछ्याएको ओमान ३६.३ ओभरमा १६९ रनमै अलआउट भयो । ओमानका लागि मुजिबुर अलीले सर्वाधिक ४३ रन जोड्नुभयो भने रमानन्दीले २४ र विनायक शुक्लले २१ रन बनाउनुभयो । ओमानलाई सस्तैमा समेट्न नेपालका युवराज खत्रीले घातक बलिङ गर्दै ३ विकेट लिनुभयो । उहाँले ६ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिनुभयो ।

त्यस्तै, हेमन्त धामी, आकाश चन्द र शेर मल्लले समान २–२ विकेट लिनुभयो भने सन्तोष यादवले १ विकेट लिनुभयो । ओमानले लिग–२ अन्तर्गत सोमबार यूएई र बुधबार नेपालको राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply