कञ्चनपुरमा नयाँ प्रहरी नेतृत्व : एसपी नेत्रमणि गिरीसँग पत्रकारहरूको परिचयात्मक भेटघाट

हेमा भट्ट,जेठ ८
कञ्चनपुर – सीमावर्ती जिल्ला कञ्चनपुरको शान्ति सुरक्षा, अपराध नियन्त्रण र नागरिकमैत्री प्रहरी सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नयाँ कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीसँग पत्रकारहरूको परिचयात्मक तथा भेटघाट कार्यक्रम आयोजना गरेको छ।

अनुभव, अनुशासन र व्यावसायिक कार्यशैलीका लागि परिचित प्रहरी उपरीक्षक गिरीको आगमनसँगै जिल्लाको सुरक्षा व्यवस्थापन थप चुस्त, प्रविधिमैत्री र परिणाममुखी बन्ने अपेक्षा गरिएको छ। कञ्चनपुर जस्तो संवेदनशील सीमावर्ती जिल्लामा लागूऔषध ओसारपसार, चोरी-तस्करी, सीमा अपराध, साइबर अपराध, महिला हिंसा तथा सामाजिक विकृतिका चुनौतीहरू बढिरहेका बेला सक्षम नेतृत्वको आवश्यकता महसुस भइरहेका समयमा उहाँको जिम्मेवारी ग्रहणलाई सकारात्मक रूपमा हेरिएको छ।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूसँग प्रहरी उपरीक्षक गिरीले समुदाय-प्रहरी साझेदारीलाई प्राथमिकतामा राख्दै नागरिकसँग प्रत्यक्ष संवाद, सूचना आदानप्रदान र अपराध न्यूनीकरणका योजनामा सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो। उहाँले शान्ति सुरक्षा कायम गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सत्य, तथ्य र जिम्मेवार पत्रकारिताले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

स्थानीय नागरिक तथा सरोकारवालाहरूले नयाँ नेतृत्वबाट प्रहरी संगठनप्रति जनविश्वास थप मजबुत हुने, पीडितले सहज न्यायको अनुभूति पाउने तथा अपराध नियन्त्रणमा निष्पक्ष र कडा भूमिका देख्न पाइने अपेक्षा गरेका छन्। विशेषगरी युवापुस्तालाई कुलतबाट जोगाउने अभियान, विद्यालयस्तरीय सुरक्षा सचेतना, महिला तथा बालबालिका संरक्षण र सामुदायिक सुरक्षाका कार्यक्रम प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।

पछिल्लो समय प्रविधिको प्रयोगमार्फत अपराध अनुसन्धान तथा निगरानी प्रणालीलाई प्रभावकारी बनाउने अभ्यास भइरहेका बेला प्रहरी उपरीक्षक गिरीको नेतृत्वमा कञ्चनपुर प्रहरीले आधुनिक कार्यशैली अपनाउँदै “जनताको प्रहरी” भन्ने अवधारणालाई व्यवहारमै उतार्ने अपेक्षा गरिएको छ।

जिल्लावासीले प्रहरी उपरीक्षक नेत्रमणि गिरीलाई सफल कार्यकालको शुभकामना दिँदै सुरक्षित, सभ्य र अपराधमुक्त कञ्चनपुर निर्माणमा उहाँको भूमिका प्रभावकारी रहने विश्वास व्यक्त गरेका छन्।

यसैबीच जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आयोजना गरेको परिचयात्मक तथा भेटघाट कार्यक्रममा निर्धारित मिति, समय र स्थानमा उपस्थितिका लागि सम्पूर्ण सञ्चारकर्मी तथा सरोकारवालालाई हार्दिक अनुरोध समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply