काठमाडौँ, जेठ १४ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि शुक्रबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेशका तराई र पहाडी भूभाग तथा बाँकी तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।
हाल नेपालमा देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।
भोलि शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागका केही स्थान तथा मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशका तराई भूभागका एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्म्को वर्षा र हिमपातको सम्भावना छ ।
शुक्रबार र शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
