हेमा भट्ट,जेठ १७
कञ्चनपुर -महेन्द्रनगर
जन्मजात अनुहार तथा मुखसम्बन्धी विकृतिका कारण शारीरिक, मानसिक र सामाजिक चुनौती भोगिरहेका बालबालिका तथा बिरामीहरूका लागि सुदूरपश्चिमबाट उत्साहजनक खबर आएको छ। महेन्द्रनगरस्थित मन्त्र अस्पताल एण्ड रिसर्च प्रा. लि. र जीवा फाउन्डेशन (स्माइल ट्रेन कार्यक्रम), धनगढीबीच महत्वपूर्ण सम्झौता (MoU) सम्पन्न भएको छ।
यस सहकार्यसँगै अब ओठ फाटेको (Cleft Lip), तालु फाटेको (Cleft Palate), Craniofacial Deformities लगायतका जन्मजात अनुहारसम्बन्धी विकृतिका बिरामीहरूलाई निःशुल्क तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइने भएको छ। विशेषगरी आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुँदै आएका बालबालिका र परिवारहरू यस कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
सम्झौताअनुसार समुदायस्तरमै बिरामीको खोज तथा पहिचान गरी निःशुल्क सामुदायिक पहुँच (Community Outreach) कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रमअन्तर्गत विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण, परामर्श, आवश्यक प्रयोगशाला परीक्षण, नियमित स्क्रिनिङ, पोषण परामर्श, स्पिच थेरापी, अर्थोडोन्टिक सेवा तथा स्वास्थ्य शिक्षा प्रदान गरिनेछ।
त्यसैगरी आवश्यक परेका बिरामीका लागि Facial Reconstructive Surgery समेत विशेष सहुलियतमा उपलब्ध गराइनेछ। उपचारका लागि आवश्यक सम्पूर्ण खर्च जीवा फाउन्डेशनको स्माइल ट्रेन कार्यक्रममार्फत व्यहोर्ने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण तथा विपन्न परिवारका बालबालिकालाई लक्षित गरी सञ्चालन हुन लागेको यो कार्यक्रमले जन्मजात विकृतिका कारण समाजमा भोग्नुपरेको विभेद, आत्मविश्वासको कमी तथा स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
मन्त्र अस्पताल र जीवा फाउन्डेशनले समुदायमा सचेतना अभिवृद्धि गर्दै बढीभन्दा बढी बिरामीलाई सेवाको पहुँचमा ल्याउने लक्ष्य राखेका छन्। यस सहकार्यले सुदूरपश्चिम क्षेत्रमा बाल स्वास्थ्य तथा पुनर्स्थापना सेवाको क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
स्वस्थ मुस्कान, उज्ज्वल भविष्य भन्ने मूल नारासहित सुरु गरिएको यो अभियानले धेरै बालबालिकाको अनुहारमा मुस्कान फर्काउनुका साथै परिवारको जीवनमा समेत सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिएको छ।

