जेठ १८
सन् २०२६ को विश्वकपमा अब खेलको दौरान गोलकिपर घाइते भएको बहानामा खेलाडीहरू कोचसँग सल्लाह गर्न ‘प्राविधिक क्षेत्र’ मा जान पाउने छैनन्।
फिफाका रेफ्री प्रमुख पियरलुइजी कोलिनाले समय खेर फाल्ने र विपक्षीको खेलको लय बिगार्ने यस्तो रणनीतिक ‘टाइमआउट’ लाई रोक्न नयाँ नियम ल्याइएको खुलासा गरेका छन्।
अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्डले भिएआर (प्रोटोकलमा पनि परिवर्तन गरेको छ, जसअनुसार अब बल प्रहार हुनुअघि (कर्नर वा फ्रि-किकमा) हुने फाउललाई पनि रिभ्यु गर्न सकिनेछ।
विगतमा गोलकिपर मैदानमा लडेर फिजियो बोलाउने र बाँकी खेलाडीहरू टचलाइनमा गएर कोचबाट नयाँ निर्देशन लिने चलन बढेको थियो। यसले खेलको गति रोक्ने गर्दथ्यो। अबदेखि गोलकिपर घाइते हुँदा दुवै टोलीका खेलाडीहरू मैदानको बीच भाग (सेन्टर सर्कल) मा बस्नुपर्नेछ वा जहाँ छन् त्यहीँ रहनुपर्नेछ। उनीहरू कोचसँग कुरा गर्न मैदान बाहिर जान पाउने छैनन्।
कोलिनाका अनुसार, ‘गोलकिपर घाइते हुन पाउँछन्, तर खेलाडीहरूलाई खेल रोकेर कोचसँग टाइमआउट लिने अधिकार छैन।’
अब कर्नर वा फ्रि-किक प्रहार हुनुभन्दा ठीक अगाडि यदि कुनै आक्रमणकारी खेलाडीले डिफेन्डरलाईरोक्छ भने भिएआरले त्यसलाई जाँच गरेर गोल रद्द गर्न सक्नेछ। यो नियमले डिफेन्डरहरूलाई सुरक्षित बनाउनेछ। यद्यपि, यो नियम आक्रमणकारीले गर्ने फाउलमा मात्र लागू हुनेछ।
अबदेखि मैदानमा विपक्षी खेलाडी वा रेफ्रीसँग विवाद गर्दा हात, कपडा वा पाखुराले मुख छोपेर बोलेमा ‘रातो कार्ड’ दिइनेछ। यो नियम खेलाडीहरूले मुख छोपेर गर्ने रंगभेदी वा अपमानजनक टिप्पणी रोक्न ल्याइएको हो। यदि कुराकानी मित्रवत छ भने मुख छोप्न पाइनेछ, तर विवादको स्थितिमा मुख छोप्नुलाई अपराध मानिनेछ।
खेलको गति बढाउन विश्वकपमा केही ‘काउन्टडाउन’ नियमहरू लागू हुनेछन्।
५ सेकेन्ड थ्रो-इन: यदि कुनै खेलाडीले नियतवश थ्रो-इन ढिलो गरेमा, बल विपक्षी टोलीलाई दिइनेछ।
५ सेकेन्ड गोल-किक: गोल-किकमा समय खेर फालेमा विपक्षीले कर्नर पाउनेछ।
१० सेकेन्डको सब्सिच्युसन: मैदानबाट बाहिरिने खेलाडीले १० सेकेन्डभित्र नजिकैको बिन्दुबाट मैदान छाड्नुपर्नेछ। यदि ढिलो गरेमा, नयाँ खेलाडी १ मिनेटसम्म मैदान छिर्न पाउने छैन र टोलीले १० खेलाडीमा खेल्नुपर्नेछ।
मैदान बाहिर उपचार: उपचारका लागि फिजियो बोलाउने खेलाडीले कम्तीमा ६० सेकेन्ड मैदान बाहिर बस्नुपर्नेछ।
भिएआरका अन्य परिवर्तनहरू:
कर्नर सही तरिकाले दिइएको छ कि छैन भनेर भिएआरले छिटो जाँच गर्न सक्नेछ।
यदि कुनै खेलाडीले दोस्रो ‘पहेंलो कार्ड’ पाएर मैदान छाड्नुपर्ने स्थिति आएमा, भिएआरले त्यो दोस्रो कार्ड सही हो कि होइन भनेर रिभ्यु गर्न सक्नेछ।
