गाजाका क्यान्सरपीडित बालबालिकालाई खेलकुद र मनोरञ्जनमार्फत राहत

गाजा, जेठ १७ गते । युद्ध र रोगको दोहोरो पीडाबाट गुज्रिरहेका गाजाका क्यान्सरपीडित बालबालिकाका लागि शनिबार केही समय खुसी र मनोरञ्जनको वातावरण सिर्जना गरिएको छ । गाजा सहरस्थित अल-रन्तिसी बाल अस्पतालमा स्वयंसेवकले खेलकुद, चित्रकला, अनुहार रङ्ग्याउने तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्दै बालबालिकालाई मानसिक राहत प्रदान गर्ने प्रयास गरेका हुन् ।

यो कार्यक्रम गाजावासीका लागि राहत कार्यमा संलग्न इजिप्टेली सहयोग समितिका मनोसामाजिक सहयोग तथा मनोरञ्जन टोलीद्वारा आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी बालबालिकाले खेल खेल्नुका साथै गीत, नृत्य र सिर्जनात्मक गतिविधिमार्फत केही समयका लागि रोग र युद्धको तनाव बिर्सने अवसर पाए ।

कार्यक्रममा जोकरको भूमिकामा रहेका स्वयंसेवक सुलेमान अबुदले युद्धका कारण गाजाका बालबालिकाले असाधारण कठिनाइ र त्रास भोग्नुपरेको बताउनुभयो । उहाँका अनुसार यस्ता बालबालिकालाई उपचार मात्र नभई मानसिक र सामाजिक सहयोग पनि अत्यन्त आवश्यक छ । खेल्न, हाँस्न र आफ्ना भावना व्यक्त गर्न पाउनु उनीहरूको मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो ।

बालबालिकाका अभिभावकले पनि यस पहलको प्रशंसा गरेका छन् । क्यान्सर उपचार गराइरहेका एक बालकका अभिभावक इहसान अब्दुल आलले यस्ता कार्यक्रमले बालबालिकालाई केही समयका लागि भए पनि अस्पताल, उपचार र रोगको वातावरणबाट टाढा लैजान मद्दत गर्ने बताउनुभयो । युद्धका कारण विस्थापित राफिफ अबु ओदाले आफ्नी १२ वर्षीया छोरी समाहलाई महिनौँपछि यति धेरै खुसी देखेको बताउनुभयो ।

समाहले स्वयंसेवकसँग गीत गाउन र नाच्न पाउँदा आफू बिरामी भए पनि निकै रमाएको प्रतिक्रिया दिनुभएको छ । यो कार्यक्रम गाजामा बढ्दो मानसिक स्वास्थ्य संकटका बीच आयोजना गरिएको हो । दुई वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्वका कारण त्यहाँका बालबालिका तथा सर्वसाधारण गम्भीर मानसिक तनावको सामना गरिरहेका छन् ।

गाजाको मानसिक स्वास्थ्य अस्पतालका निर्देशक अब्दुल्लाह अल-जमालले अवस्थालाई अत्यन्त गम्भीर र चिन्ताजनक बताउनुभएको छ । उहाँका अनुसार द्वन्द्वका क्रममा गाजाको एकमात्र मानसिक स्वास्थ्य अस्पताल ध्वस्त भएको छ भने औषधि र विशेषज्ञ चिकित्सकको अभावले उपचार सेवा झन् कठिन बनेको छ । क्यान्सरबाट पीडित धेरै बालबालिकाले समयमै रोग पहिचान र उपचारसमेत पाउन नसकेको उहाँले जानकारी दिनुभयो । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply