भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल, २७ जना घाइते

ला भिल्ला डे लस सान्तोस, असोज २५ गते । शक्तिशाली भूकम्पपछि लगातार परकम्प आउँदा जनजीवन प्रभावित बनेपछि पानामा सरकारले शनिबार सङ्कटकाल घोषणा गरेको छ। भूकम्पबाट देशका १० वटै प्रान्त र दुई आदिवासी क्षेत्रमा भौतिक क्षति पुगेको छ भने २७ जना घाइते भएका छन्।

शुक्रबार ७.७ र ६.६ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि केन्द्रविन्दु नजिकका भवन भत्किएका थिए। भूकम्पविद्ले ५.८, ५.५ र ५.२ म्याग्निच्युडका परकम्पसहित १०० भन्दा बढी परकम्प रेकर्ड गरेका छन्। भूकम्पपछि विभिन्न क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार पहिलो भूकम्प मध्य प्रान्त हेरेराको दुर्गम बस्ती पितालोझा अरिबाबाट करिब १० किलोमिटर दक्षिणपश्चिममा केन्द्रित थियो। १० किलोमिटर गहिराइमा गएको भूकम्प छिमेकी देश कोलम्बियामा समेत महसुस गरिएको थियो।

राष्ट्रपति कार्यालयका मन्त्री जुआन कार्लोस ओरिलाकले राजधानी पानामा सिटीमा पत्रकार सम्मेलन गरी सङ्कटकाल घोषणा गर्नुभएको हो। उहाँका अनुसार भूकम्पले घर, विद्यालय, स्वास्थ्य केन्द्र, सडक र होटलमा क्षति पुर्‍याएको छ। राष्ट्रिय नागरिक सुरक्षा प्रणालीकी उपनिर्देशक मालिजी रिभेराले घाइतेमध्ये अधिकांशलाई सामान्यदेखि मध्यम प्रकृतिका चोट लागेको जानकारी दिनुभयो।

४२० घर र विद्यालयमा क्षति

भूकम्पबाट सबैभन्दा बढी क्षति भेरागुआस, हेरेरा, कोक्ले र लस सान्तोस प्रान्तमा पुगेको छ। नागरिक सुरक्षा निकायका अनुसार करिब ४२० घर र त्यति नै सङ्ख्यामा सार्वजनिक विद्यालयमा क्षति भएको छ। त्यस्तै, सात होटल, कम्तीमा १३ चर्च र नौ पुल प्रभावित भएका छन्।

भूकम्पको केन्द्रविन्दुबाट करिब ६४ किलोमिटर उत्तरपूर्वमा रहेको ऐतिहासिक बस्ती ला भिल्ला डे लस सान्तोसमा घर तथा पुरानो क्याथोलिक चर्च भत्किएका छन्। घरमा क्षति पुगेपछि स्थानीय बासिन्दा सडक र पालमुनि रात बिताउन बाध्य भएका छन्।

घर आंशिक रूपमा भत्किएपछि आफन्तसँग पालमुनि बसिरहेका टोनी जिमेनेजले आफू शुक्रबार दिउँसोदेखि सडकमा समय बिताइरहेको बताउनुभयो। स्थानीय बासिन्दा सरकारी निर्देशनको प्रतीक्षामा रहेको जनाइएको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *