मङ्सिर ६ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सलाई पहिलोपटक च्याम्पियन बनाउन स्कटल्यान्डका ब्याटर जर्ज मुन्सी निर्णायक बने। लुम्बिनी लायन्सविरुद्धको फाइनलमा उनले अविजित १२५ रनको विस्फोटक इनिङ्स खेल्दै सुदूरपश्चिमलाई १० विकेटको जित दिलाए।
शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १३.३ ओभरमै बिना विकेट क्षति लक्ष्य पूरा गरेको थियो। मुन्सीले ५४ बलमा आठ चौका र १२ छक्का प्रहार गरे। अर्का ओपनर विनोद भण्डारीले अविजित ३० रन बनाए। दुवैले पहिलो विकेटका लागि १५८ रनको साझेदारी गरे। फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका मुन्सी ‘प्लेयर अफ द म्याच’ घोषित भए।
मुन्सीको यो प्रदर्शन एक खेलमा मात्र सीमित छैन। आक्रामक ब्याटिङ र आवश्यकताअनुसार लामो इनिङ्स खेल्न सक्ने क्षमताका कारण उनी स्कटल्यान्डका भरपर्दा ब्याटरमध्ये एक मानिन्छन्। उनको क्रिकेट यात्रा भने रोचक छ। सुरुमा व्यावसायिक गल्फ खेलाडी बन्ने सपना देखेका उनले १८ वर्षको उमेरपछि गल्फ छाडेर क्रिकेट रोजेका थिए।
सन् १९९३ फेब्रुअरी २२ मा इङ्ल्यान्डको अक्सफोर्डमा जन्मिएका मुन्सी १२ वर्षको उमेरमा गल्फ छात्रवृत्ति पाएर स्कटल्यान्ड पुगेका थिए। लोरेटो स्कुलमा अध्ययन गर्दा गल्फमा सक्रिय उनी १६ वर्षमै ‘स्क्र्याच’ ह्यान्डिक्याप स्तरमा पुगेका थिए। तर टोलीसँगै खेल्न पाउने वातावरण मन परेपछि उनले क्रिकेटलाई आफ्नो करिअर बनाए।
सन् २०१५ मा आयरल्यान्डविरुद्ध टी–२० अन्तर्राष्ट्रिय खेल्दै स्कटल्यान्डको राष्ट्रिय टोलीमा प्रवेश गरेका मुन्सीले सन् २०१७ मा हङकङविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरे। सन् २०१८ मा इङ्ल्यान्डविरुद्ध स्कटल्यान्डले ऐतिहासिक जित निकाल्दा उनले ५५ रन बनाएका थिए।
सन् २०१९ मा नेदरल्यान्ड्सविरुद्ध ५६ बलमा अविजित १२७ रन बनाउनु उनको करिअरको अर्को उल्लेखनीय उपलब्धि हो। उक्त खेलमा उनले पाँच चौका र १४ छक्का प्रहार गर्दै काइल कोएट्जरसँग पहिलो विकेटका लागि २०० रनको साझेदारी गरेका थिए। स्कटल्यान्डले तीन विकेट गुमाएर २५२ रन बनाएको थियो।
विश्वकपमा पनि मुन्सीले प्रभावशाली प्रदर्शन गरेका छन्। सन् २०२२ को टी–२० विश्वकपमा वेस्ट इन्डिजविरुद्ध अविजित ६६ रन बनाउँदै स्कटल्यान्डलाई ४२ रनको जित दिलाउन योगदान गरेका थिए। सन् २०२६ को टी–२० विश्वकपमा इटालीविरुद्ध ८४ रन बनाएका उनले सन् २०२५ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेलमा १९१ रन बनाउँदै एसोसिएट राष्ट्रका ब्याटरको उच्च व्यक्तिगत स्कोरको कीर्तिमानसमेत कायम गरेका थिए।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को उपलब्ध तथ्याङ्कअनुसार मुन्सीले ७९ एकदिवसीय र ८८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीयमा दुई हजार ७७७ र टी–२० अन्तर्राष्ट्रियमा दुई हजार ५९८ रन बनाएका छन्। दुवै प्रारूपमा उनको नाममा तीन–तीन शतक छन्।
राष्ट्रिय टोलीबाहेक उनले इङ्ल्यान्डका ह्याम्पसायर, केन्ट र नटिङ्घमसायर तथा बंगलादेशको सिलेट स्ट्राइकर्सलगायत टोलीबाट फ्रेन्चाइज क्रिकेट खेलेका छन्। एनपीएलमा यसअघि पनि सहभागी भइसकेका मुन्सीले यसपटक सुदूरपश्चिमबाट खेल्दै फाइनलमा आफ्नो क्षमता फेरि प्रमाणित गरे। उनको अविजित १२५ रन सुदूरपश्चिमको ऐतिहासिक उपाधि यात्राको सबैभन्दा सम्झनलायक प्रदर्शन बन्यो।
