हेमा भट्ट,मंसिर ७
कञ्चनपुर-पुनर्वास नगरपालिका-११, अमरबस्तीस्थित श्री कोपिला जन जागृति सामुदायिक वन उपभोक्ता समूहको १०औँ वार्षिक साधारणसभा मंसिर ७ गते सम्पन्न भएको छ। वन संरक्षणसँगै सामाजिक उत्तरदायित्व, गौ संरक्षण, समुदायको हित, पारदर्शिता र मानवीय सेवामा जोड दिँदै सम्पन्न सभामा सामुदायिक एकता र सहयोगको भावना विशेष रूपमा देखिएको थियो।
सामुदायिक वनकी अध्यक्ष जुना बानियाँको सभापतित्व तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोया प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सीता सामुदायिक वनका अध्यक्ष तथा सामुदायिक वन समन्वय महासंघ (सीएफसीसी) सुदूरपश्चिम प्रदेशका महासचिव पुनाराम चौधरी, कुन्डा सबडिभिजन वनका वन रक्षक महेन्द्र कलेल, अमर गोोकुल सामुदायिक वनका अध्यक्ष मानबहादुर थापा, अमर श्रीकृष्ण सामुदायिक वनका अध्यक्ष प्रेम बानियाँ, पूर्व गाविस उपाध्यक्ष टेकबहादुर बानियाँ, वडा सदस्य पदम सिंह धामी, समाजसेवी तथा शिखर इन्स्योरेन्सका कर्मचारी गजेन्द्र खत्रीलगायत स्थानीय समाजसेवी, उपभोक्ता तथा सरोकारवालाको सहभागिता रहेको थियो।


सभामा सामुदायिक वनकी संस्थापक स्वर्गीय गोमा पाठकप्रति श्रद्धा व्यक्त गर्दै माल्यार्पण गरिएको थियो। सामुदायिक वनको स्थापना, संरक्षण र संस्थागत विकासमा उहाँले पुर्याएको योगदानलाई सहभागीहरूले स्मरण गर्दै सम्मान प्रकट गरेका थिए। कार्यक्रममा सामुदायिक वनकी पूर्व अध्यक्ष सावित्री कार्कीले स्वागत मन्तव्य राख्दै ८१ वर्षको वृद्धावस्थामा समेत समाजप्रतिको आफ्नो जिम्मेवारी र सहयोगी भावना प्रस्तुत गरिन्। उनले १५ वर्षसम्म सामुदायिक वनको अध्यक्षको जिम्मेवारी सम्हाल्दै वन संरक्षण र समुदायको हितमा काम गरेको स्मरण गराउँदै वृद्धावस्थामा प्राप्त हुने वृद्धभत्ताबाट ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको विषय सभाको भावुक र प्रेरणादायी प्रसंग बनेको थियो। उमेरले शरीर कमजोर बनाउँदै लगे पनि समाजका लागि केही गर्ने मन र इच्छाशक्ति कमजोर हुँदैन भन्ने उदाहरण प्रस्तुत गर्दै उनको योगदानको सहभागीहरूले प्रशंसा गरेका थिए।
सामुदायिक वनकी अध्यक्ष जुना बानियाँले वार्षिक आयव्यय, प्रगति विवरण तथा वन संरक्षणका गतिविधि प्रस्तुत गर्दै वनले वातावरण संरक्षणसँगै किसान, उपभोक्ता र समुदायको हितमा विभिन्न सहयोग तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिइन्। किसानलाई आवश्यक सहयोग, मलजल, तालिम, वन्यजन्तु संरक्षण, सामाजिक कार्य तथा गौ संरक्षणमा आर्थिक र संस्थागत सहयोग गर्दै आएको बताउँदै स्थानीय सरकारबाट प्राप्त सहयोगसमेत सामुदायिक हितमा उपयोग गरिएको उल्लेख गरिन्। सामुदायिक वनका सचिव चन्द्रा धर्तीले आर्थिक वर्ष २०८३/०८४ को अनुमानित बजेट प्रस्तुत गर्दै आगामी कार्यक्रम तथा योजनालाई व्यवस्थित रूपमा अघि बढाउने विषय सभामा राखेकी थिइन्।


साधारणसभामा वन संरक्षणसँगै छाडा चौपाया व्यवस्थापन र गौ संरक्षण अभियानलाई प्रमुख सामाजिक जिम्मेवारीका रूपमा उठाइएको थियो। अध्यक्ष बानियाँले घरपालुवा पशुचौपायालाई घरबाट धपाएर जंगल तथा सडकमा छाड्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउँदै पशु व्यवस्थापनमा प्रत्येक नागरिक जिम्मेवार बन्नुपर्ने धारणा राखिन्। “हामी आफैँले छाडेका चौपायाको समाधान पनि हामीले नै खोज्नुपर्छ” भन्ने भाव व्यक्त गर्दै उनले पशुचौपायाको उचित व्यवस्थापन, वातावरण संरक्षण र नागरिक सचेतनामा जोड दिइन्। गाईको गोबर तथा गहुँतबाट उपयोगी जैविक सामग्री तयार गर्न सकिने भएकाले त्यसको सदुपयोग गर्नुपर्ने र समुदायका सबै सदस्य जिम्मेवार नागरिक बने वन, वातावरण तथा पशु संरक्षणमा सकारात्मक परिवर्तन सम्भव हुने उनको भनाइ थियो।
सभामा गौशालाको अवस्था र पशु संरक्षणका चुनौतीबारे पनि गम्भीर चर्चा भएको थियो। ८३ वर्षीय बौद्ध लामाले गौशालामा रहेका पशुहरूको अवस्था नाजुक रहेको, कतिपय स्थानमा चौपायाको उचित हेरचाह हुन नसकेको तथा बालीनाली नष्ट हुने समस्या रहेको धारणा राख्दै संरक्षण अभियानलाई व्यवस्थित बनाउनुपर्ने बताए। डोकेबजार व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर थापाले गौ संरक्षण अभियान सफल बनाउन सबैको साथ, सहयोग र निरन्तरता आवश्यक रहेको उल्लेख गरे। कतिपय काम सम्भव भइसकेको र कतिपय अझै चुनौतीपूर्ण रहेको बताउँदै समुदाय एकजुट भएर लागे सम्भावनाहरू खुल्ने उनको भनाइ थियो। उनले गौ संरक्षण समितिको खातामा प्रत्येक महिना एक हजार रुपैयाँ जम्मा गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहयोग अभियानलाई नियमित र दिगो बनाउनुपर्ने सुझाव दिए। एक व्यक्ति एकभन्दा बढी सामुदायिक वनको उपभोक्ता रहेको अवस्थालाई समेत उल्लेख गर्दै संरक्षण अभियानमा सबैले आफ्नो जिम्मेवारी बुझ्नुपर्ने धारणा राखेका थिए।


कुन्डा सबडिभिजन वनका वन रक्षक महेन्द्र कलेलले गौशाला निर्माण, चौपाया व्यवस्थापन तथा संरक्षणमा समुदायले गरेको प्रयासको प्रशंसा गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए। विशेषगरी आफ्नो वृद्धभत्ताबाट गौ संरक्षणका लागि सहयोग गर्ने वृद्ध आमाको उदारता र देउसीभैलो खेलेर संकलित रकम गौशालामा सहयोग गर्ने महिला तथा युवाहरूको योगदान प्रशंसनीय रहेको उनले बताए। आर्थिक सहयोगभन्दा पनि समाजप्रतिको भावना, श्रम र सामूहिक जिम्मेवारी ठूलो कुरा भएको उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने उनको सुझाव थियो।
सीता सामुदायिक वनका अध्यक्ष तथा सीएफसीसी सुदूरपश्चिम प्रदेशका महासचिव पुनाराम चौधरीले सामुदायिक वनको संरक्षण, सामाजिक उत्तरदायित्व र उपभोक्ताको सहभागिताबारे सुझावसहित शुभकामना मन्तव्य राखेका थिए। अमर गोोकुल सामुदायिक वनका अध्यक्ष मानबहादुर थापा, पूर्व गाविस उपाध्यक्ष टेकबहादुर बानियाँ, वडा सदस्य पदम सिंह धामी र अमर श्रीकृष्ण सामुदायिक वनका अध्यक्ष प्रेम बानियाँले समेत वन संरक्षण, सामुदायिक एकता, गौ संरक्षण तथा सामाजिक अभियानलाई थप प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेको धारणा राख्दै शुभकामना व्यक्त गरेका थिए।


समाजसेवी तथा शिखर इन्स्योरेन्सका कर्मचारी गजेन्द्र खत्रीले वन्यजन्तु, पशुधन, निर्जीवन बीमा तथा सम्पत्ति बीमासम्बन्धी जानकारी र सुझाव प्रस्तुत गर्दै संरक्षण अभियानमा संलग्न समुदायले जोखिम व्यवस्थापन र बीमासम्बन्धी विषयमा समेत सचेत हुनुपर्ने बताए। गौशालाको संरक्षण र व्यवस्थापनलाई दीर्घकालीन बनाउन भौतिक संरचना, पशु हेरचाह र सम्भावित जोखिमबारे ध्यान दिनुपर्ने उनको सुझाव थियो।
गौ संरक्षण अभियानमा आर्थिक सहयोग जुटाउने क्रममा समाजसेवी, अमर गोोकुल सामुदायिक वनका सचिव तथा विन्ध्यवासिनी मन्दिर समितिका अध्यक्ष सोम बानियाँले मन्दिर समितिको तर्फबाट ५० हजार रुपैयाँ नगद सहयोग गरेका छन्। धार्मिक आस्था, सामाजिक सेवा र गौ संरक्षणलाई जोड्दै गरिएको उक्त सहयोगले गौशाला व्यवस्थापन तथा निर्माण अभियानमा थप ऊर्जा दिने अपेक्षा गरिएको छ। गौशालाका संयोजक लक्ष्मण दास चौधरीले गौशालामा विद्युत् जडान, गोठाला व्यवस्थापन, पशुहरूको नियमित हेरचाह तथा आवश्यक भौतिक संरचना निर्माणका लागि थप सहयोग आवश्यक रहेको बताउँदै सबैको साथ र सहयोगको अपेक्षा गरेका थिए।


कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिकाका नगर प्रमुख तोया प्रसाद शर्माले सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक उत्तरदायित्व, गौ संरक्षण र समुदायको हितमा गरिरहेको काम प्रशंसनीय रहेको बताए। उनले गौ संरक्षण तथा व्यवस्थापनका विषयमा आवश्यक कार्ययोजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै स्थानीय सरकार समुदायसँग साथमा रहेको र आगामी दिनमा पनि आवश्यक सहयोग तथा सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे। योजना, आवश्यकता र प्राथमिकताका आधारमा व्यवस्थित प्रस्ताव तथा कार्ययोजना अघि बढाउनुपर्ने बताउँदै वन, वातावरण, पशु संरक्षण र सामाजिक विकासमा स्थानीय सरकार तथा समुदायबीचको सहकार्य महत्वपूर्ण हुने उनको भनाइ थियो।
कार्यक्रम सामुदायिक वनकी सदस्य तथा समाजसेवी मिना लामाले सञ्चालन गरेकी थिइन् भने उपाध्यक्ष ललुङ डोल्मा लामाले स्वागत मन्तव्य राखेकी थिइन्। अध्यक्ष जुना बानियाँले सहभागी सबैलाई धन्यवाद दिँदै सभा समापन गरिन्।


१०औँ साधारणसभाले वन संरक्षण, सुशासन, पारदर्शिता, सामाजिक उत्तरदायित्व, गौ संरक्षण र सामुदायिक एकतालाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। आर्थिक सहयोग, श्रमदान, वृद्धवृद्धाको उदारता, महिला सहभागिता, सामाजिक अगुवाको सक्रियता र स्थानीय सरकारको साथले कोपिला जन जागृति सामुदायिक वनलाई वन संरक्षणमा मात्र नभई सामाजिक सेवाको क्षेत्रमा समेत उदाहरणीय संस्था बनाउने दिशामा अघि बढाएको छ। सानो सामुदायिक वन भए पनि ठूलो सोच, सहयोगी भावना र समाजप्रतिको समर्पणले अमरबस्तीमा सकारात्मक परिवर्तनको सन्देश दिएको छ।







