मंसिर १०
बाजुरा – बाजुराको बुढीगंगा नगरपालिकामा जंगली जनावर बाघको आक्रमणबाट दुई महिला घाइते भएका छन्। घाँस काट्न जंगल पुगेका महिलामाथि बाघले एक्कासि आक्रमण गरेपछि उनीहरू घाइते भएका हुन्।
प्राप्त प्रहरी विवरणअनुसार आज मिति २०८३ मंसिर १० गते बिहान करिब ९ बजे बुढीगंगा नगरपालिका-१० सिगाडाकी ५५ वर्षीया खन्टि साउद र सोही ठाउँकी ३५ वर्षीया बसु साउद घोडा धपाउनेस्थित घाँसे मेलामा घाँस काटिरहेका बेला जंगली जनावर बाघको आक्रमणमा परेका थिए।


आक्रमणबाट खन्टि साउदको बायाँ हातमा चोट लागेको छ भने बसु साउदको दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। घटनालगत्तै दुवै घाइतेलाई उपचारका लागि अछामस्थित बयलपाटा प्रादेशिक अस्पताल पठाइएको थियो। अस्पतालमा उपचाररत दुवै जनाको अवस्था सामान्य रहेको र आफन्तहरू साथमा रहेको जानकारी प्राप्त भएको छ।
घटनाबारे बिहान ११:१५ बजे अस्थायी प्रहरी पोस्ट रिठाबजारमा जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक धनबहादुर देउवाको कमाण्डमा चार सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। उक्त स्थान प्रहरी पोस्ट रिठाबजारबाट करिब चार किलोमिटर दक्षिणमा पर्दछ।


यस घटनाले ग्रामीण तथा वन क्षेत्र आसपासका बस्तीमा दैनिक घाँसदाउरा गर्न जाने स्थानीयको सुरक्षामाथि पुनः प्रश्न उठाएको छ। विशेषगरी महिला तथा स्थानीय बासिन्दा घाँस काट्न, पशुचौपाया चराउन र घरायसी कामका लागि वन क्षेत्रमा पुग्नुपर्ने बाध्यता रहेकाले जंगली जनावरको जोखिमलाई सामान्य रूपमा लिन मिल्दैन।
स्थानीय बासिन्दालाई वन क्षेत्रमा एक्लै नजान, सम्भव भएसम्म समूहमा आवतजावत गर्न तथा जंगली जनावर देखिएमा नजिक जाने वा जिस्क्याउने प्रयास नगरी सुरक्षित स्थानतर्फ जान सावधानी अपनाउन आवश्यक देखिन्छ। साथै, सम्बन्धित निकायले घटनास्थलको अवस्था बुझी वन्यजन्तुको सम्भावित आवतजावत पहिचान गर्न र स्थानीयलाई सचेत गराउन आवश्यक छ।
मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्दै स्थानीयको जनधनको सुरक्षा सुनिश्चित गर्नु सम्बन्धित निकायको प्राथमिक जिम्मेवारी बन्नुपर्छ।
