स्थानीय तहको निर्वाचन २०७९ को मतदान सम्पन्न भएर अहिले देशभर मतगणना जारी

टीकापुर । स्थानीय तहको निर्वाचन २०७९ को मतदान सम्पन्न भएर अहिले देशभर मतगणना जारी छ । यो संगै अहिले विभिन्न स्थानीय तहका नतिजासमेत आइरहेको छ । टीकापुर नगरपालिकामा पनि निकै रोचक प्रतिस्पर्धा देखिएको छ अझ मेयरमा भन्दा पनि उपमेयरमा प्रतिस्पर्धा बढी छ । गठबन्धन पक्षबाट उपमेयरका उम्मेदवार रहेका माओवादी केन्द्रका नेता खडक शाह यतिबेला प्रतिपक्षीलाई कडा टक्कर दिइरहेका छन् । यो बीचमा टीकापुर नगरपालिकामा माओवादी केन्द्रले तीनवटा वडामा जित हात पारिसकेको छ । अन्य ठुला दलभन्दा पनि भर्खरै स्थापित नागरिक उन्मुक्ति पार्टीले मतगणनाको सुरुदेखि नै नगरमा अग्रता लिदै मतान्तर पनि बढाउदै लगेको छ । त्यस्तै वडामा पनि मुख्य प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टी नै देखिएको भएपनि माओवादी केन्द्रबाट वडाका उम्मेदवारका लागि भने गठबन्धन सारथी नेपाली काङ्ग्रेस प्रतिस्पर्धी बनेको छ ।

माओवादी केन्द्रले गत स्थानीय तहको निर्वाचन २०७४ मा जितेका वडामा आफ्नो विरासत जोगाएको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट नगरपालिकाको मेयरका उम्मेदवार रामलाल डगौराकै वडामा माओवादी केन्द्रका उम्मेदवारले जित हात पारेका छन् ।

वडा नं. ७ का निवर्तमान वडाध्यक्षसमेत रहेका रामलाल डगौरा थारु अहिले नागरिक उन्मुक्ति पार्टीबाट मेयरका उम्मेदवार हुन् ।

उनी पहिले माओवादी केन्द्रबाटै वडाध्यक्षमा निर्वाचित भएका थिए । यस वडामा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार यज्ञ न्यौपानेले ८ सय ९८ मत पाएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका पहलवान चौधरीले ८ सय २७ मत पाएर पराजित बनेका छन् । वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य भने नागरिक उन्मुक्ति पार्टीले जितेको छ ।

वडा नं. ८ माओवादी केन्द्रबाट दिर्घ ठकुल्ला ८ सय ४७ मतका साथ विजयी भएका छन् भने नेपाली काङ्ग्रेसबाट अध्यक्षका उम्मेदवार शेर बहादुर साउदले ६ सय ८३ मत पाएर पराजित भएका छन् । यो वडामा भने नागरिक उन्मुक्ति पार्टी लगायत एमालेको पकड निकै कमजोर देखिएको छ ।

वडा नं. ८ र ९ मा नागरिक उन्मुक्ति पार्टी भन्दा पनि मेयर÷उपमेयरको गठबन्धनमै रहेको नेपाली काङ्ग्रेस मुख्य प्रतिस्पर्धी बन्न पुग्यो ।

त्यस्तै वडा नं. ९ मा लौटनदत्त चौधरी पनि प्यानलसहित पुनः विजयी भएका छन् । उनले ७ सय १६ मत पाएर जित हात पार्दा प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका विजय धामी ४ सय ९५ मतका साथ पराजित भएका हुन् ।

टीकापुर नगरपालिकामा अन्य ३ वडाको समेत अन्तिम मत परिणाम आइसकेको छ । वडा नं. ३ मा नेपाली काङ्ग्रेसबाट ऋषि श्रीपाइली, वडा नं. ४ र ५ मा नागरिक उन्मुक्ति पार्टीबाट क्रमशः लालबिर चौधरी र बलबिर चौधरी विजयी भएका छन् । यो समाचार लेख्दासम्मको मतगणना अनुसार मेयर र उपमेयर दुइटैमा नागरिक उन्मुक्ती पार्टीको अग्रता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply