नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पाँच दलीय गठबन्धनबीच आगामी प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुने बताए

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पाँच दलीय गठबन्धनबीच आगामी प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुने बताएका छन्। स्थानीय तह निर्वाचनमा गरिएको तालमेल असफल भएको निष्कर्ष नभएको र प्रदेश र सङ्घीय निर्वाचनसम्मै गठबन्धन दलहरूबीचको तालमेललाई निरन्तरता दिने पहिले नै निर्णय भएको बताए।

श्रेष्ठले भनेका छन्, ‘तालमेल असफल भयो भन्ने अवस्था छैन । तर, पार्टीको औपचारिक बैठक बसेर समीक्षा गर्न बाँकी छ। समीक्षापछि तालमेल कति सफल र कति असफल भन्न सकिन्छ। यद्यपि, स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेकै बेला संघ र प्रदेशमा पनि तालमेल गर्ने कुरा भएको छ।’

७५३ मध्ये एमाले बलियो भएको स्थानीय तहमा मात्र गठबन्धन दलहरूबीच तालमेल भएको थियो। गठबन्धन दलहरू नै बलियो भएको स्थानीय तहमा भने आफूहरूबीच नै प्रतिस्पर्धा भएको थियो। जसलाई गठबन्धन दलहरूले मित्रवत् प्रतिस्पर्धा भनेका थिए ।

यस्तै गठबन्धनमा रहेकै दल नेपाली कांग्रेसले तालमेल सफल र परिणाम सकारात्मक आएको निष्कर्ष निकालेको छ। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको परिणामले संघ र प्रदेशको निर्वाचनमा तालमेलको आधार मजबुत बनेको पनि बताएका बेला नेता श्रेष्ठको पनि तालमेल हुन सक्ने अभिव्यक्ति सार्वजनिक भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply