गठबन्धनमा आबद्ध पाँच दल अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम : एसपीपी को विपक्षमा उभिन सहमत देखिए

काठमाडौं। सत्ता गठबन्धनमा आबद्ध पाँच दल अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विपक्षमा उभिन सहमत देखिएका छन्।आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठवन्धन आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठकमा एसपीपीको विषयमा छलफल भएको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको हितविपरीतका कुनै पनि सम्झौतामा आफूले हस्ताक्षर नगर्ने विषयमा प्रस्ट हुन गठबन्धन आबद्ध दलका शीर्षस्थ नेतालाई आग्रह गरेका थिए।

बैठकमा सहभागी नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनको बैठकमा अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को विषयमा व्यापक छलफल भएको र आफूहरूले सो सम्झौता नेपालको हितमा नभएकाले त्यसको विपक्षमा उभिनुपर्ने धारणा राखेको जानकारी दिए। ‘एसपीपीको विषयमा बैठकमा व्यापक छलफल भयो, सो सम्झौता नेपालको हितमा छैन भन्ने सबैको राय छ, प्रधानमन्त्रीले पनि बैठकमा आफू एसपीपीको पक्षमा नरहेको भनेर स्पष्ट पार्नु भयो,’ नेकपा एसका सम्मानित नेता खनालले भने।

बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई अनुमोदन भने गरेको छ। ‘बैठकमा प्रधानमन्त्री अमेरिकामा हुन लागेको कार्यक्रममा सहभागी हुन जाने विषयलाई अनुमोदन गरेको छ। तर, प्रधानमन्त्रीले राष्ट्रहित विपरितका कुनै पनि समझदारी नगर्ने सहमति भएको छ,’ बैठकमा सहभागी गठवन्धन आबद्ध दलका अर्का एक नेताले राजधानीसँग भने। बैठकमा नेपाली सेनाले एसपीपीमा सहभागिताको विषयमा अमेरिकी दूवातासलाई लेखेको पत्रका विषयमा पनि छलफल भएको थियो। यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply