बाङ्ग्लादेशः पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेपछि आर्थिक सङ्कट आइपर्ने डर

तीव्र गतिमा अर्थतन्त्र विस्तार भइरहेको देशमध्ये पर्ने बाङ्ग्लादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। उसले तेलको बढ्दो मूल्यको कारण युक्रेनमा जारी युद्ध भएको बताएको छ। दक्षिण एशियाको योप अर्को देशमा आर्थिक सङ्कट देखा पर्न सक्ने देखिएको बेला हजारौँ मानिसहरू सडकमा प्रदर्शन गरिरहेका छन्।

तरकारी बोक्ने आफ्नो ट्रकका लागि पेट्रोल भर्न लाम लागेका मोहम्मद नुरुल इस्लाम आफूले सडकमा माग्नुपर्ने हो कि भनेर डर लागेको बताउँछन्।

बाङ्ग्लादेशमा अनपेक्षित रूपमा वृद्धि भएको इन्धनको मूल्यका कारण ८६ टाका (नेपाली रुपैयाँ ११५.२९) प्रतिलिटरमा पाइने पेट्रोल १३० टाका (नेपाली रुपैयाँ १७४.२७) पुगेको छ।

डीजल र मट्टितेलको मूल्य ४२.५ प्रतिशतले बढेको छ।

निरन्तर उकालो लागेको इन्धनको मूल्यले नौ वर्षदेखि एउटा परिवहन कम्पनीमा काम गरिरहेका मोहम्मदलाई दैनिक जीविकोपार्जन गर्न कठिन बनाइदिइएको छ।

उत्तरी सहर दिनाजपुरमा बस्ने ३५ वर्षीय मोहम्मद आफ्नो गृहनगरबाट ताजा तरकारी राजधानी ढाकासम्म लैजान्छन्।

उनका दुईवटा साना नानीहरू छन् र उनले आफ्ना आमाबुवाको पनि हेरचाह गर्नुपर्छ। तर तेलको मूल्य बढेसँगै उनका साहुहरूले उनलाई तलम पूरा दिन सकिरहेका छैनन्।

उनले भने, “बजार गएको बेला म आफ्नो परिवारलाई चाहिने पर्याप्त खानेकुरा किन्न सक्दिनँ। यदि इन्धनको मूल्य यसरी नै बढिरह्यो भने म आमाबुवालाई पाल्न र बच्चाहरूलाई विद्यालय पठाउन सक्दिनँ। मेरो रोजगारी गुम्यो भने मैले सडकमा माग्न थाल्नुपर्ने हुन्छ।”

झन्डै १६ करोड ८० लाख जनसङ्ख्या रहेको बाङ्ग्लादेशमा अरू धेरै मानिसहरूले यस्तै समस्या भोगिरहेका छन्।

बढ्दो आक्रोश

गत हप्ता मूल्यवृद्धिको घोषणा गरिएपछि हजारौँ मानिसहरूले पेट्रोल पम्पबाहिर देशभरि प्रदर्शन गरेका थिए। श्रीलङ्काको झल्को दिएको उक्त प्रदर्शनका क्रममा मूल्यवृद्धि फिर्ता लिन माग गरिएको थियो।

बाङ्ग्लादेशमा छिटपुट प्रदर्शनहरू भइरहेका छन् तर आक्रोश र आवेगको भावना बढिरहेको छ।

नसरुल हमिद आफ्नो देशले श्रीलङ्काको जस्तो अवस्था भोग्नु नपर्ने विश्वास गर्छन्। तर बाङ्ग्लादेशमा विदेशी मुद्राको सञ्चिति कम भइरहेको छ।

विश्वकै द्रुत गतिमा अर्थतन्त्र वृद्धि भइरहको भन्दै प्रशंसा पाएको बाङ्ग्लादेश गएको जुलाईमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण लिने श्रीलङ्का र पाकिस्तानपछि तेस्रो दक्षिण एशियाली देश बनेको थियो।

तर बिरामी सन्तानलाई उपचार गराउन यातायत खर्चको जोहो पनि गर्न नसक्ने मोसाम्मद जाकिया सुल्तानाका लागि कुनै पनि सहयोग ढिला भइरहेको छ।

इन्धनको चर्को मूल्यवृद्धिका कारण सार्वजनिक यातायातको शुल्क पनि बढेको छ। त्यसैले उनी अत्यावश्यक यात्रा मात्रै गर्दै आएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply