परम्परागत प्रतिस्पर्धी एमालेमाथि थापाको निरन्तर तारिफ, पाएका हुन् ओलीको बचन?

हेटौँडा । भदौ २५ गते गृहनगर हेटौँडा आएर राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेलाई पराजित गर्न विदेशी शक्तिको आदेशमा सत्तापक्षले गठबन्धन गरेको दाबी गरे ।

राप्रपाको मकवानपुर जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्याक्रममा उनले आफ्नो पार्टीको भन्दा एमालेको प्रशंसामा समय खर्चिए । एमालेलाई देशभक्त र राष्ट्रवादी पार्टी भएको बताउँदै थापाले आगामी निर्वाचनमा राष्ट्रवादी पार्टीबीच तालमेल हुने स्पष्ट पारे ।

थापा पछिल्लो समय हेटौँडा झरेर संगठन विस्तारमा आक्रमक शैलीमा लागेका छन् । उनले एमालेसँग तालमेल चुनावी मैदानमा जान बताइसकेका छन् । भारतको नाकाबन्दीताका केपी ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री रहेका थापाले भारतसँग नझुकेको, संयुक्त राष्ट्रसंघको बैठकमा नाकाबन्दीको खुलेर प्रतिवाद गरेको भन्दै राप्रपालाई तहसनहस पारिएको समेत आरोप लगाएका छन् । यहीकारण एमाले र राप्रपामाथि विदेशी शक्ति नै खनिएको उनको बुझाइ छ ।

थापाको अभियक्तिपछि आफूहरूसँगको तालमेलमा मकवानपुरको क्षेत्र नम्बर १ बाट उम्मेदवार हुने त हैनन् भन्ने एमाले वृत्तमा चर्चा हुन थालेको छ । प्रत्येक भेलामा एमाले र ओलीसँगको प्रशंसा, नेतृत्वसँगको भेटले ओलीले उनलाई यो पटक ‘बचन’ दिएको छनक मिलेको एमालेका नेताहरू बताउँछन् ।

केन्द्रमा ओलीसँगको सम्बन्ध सुधारले साथ पाउने थापाको आश छ । राप्रपाका महामन्त्री राजाराम बर्तौला भन्छन् ‘सबैकुरा अहिले नै फाइनल भएको अवस्था हैन, यो पटक अध्यक्ष ज्यू मकवानपुरबाटै प्रत्यक्ष निर्वाचन लड्ने निश्चित छ । एमालेसँग तालमेलको सम्भावना पनि प्रवल छ ।’

तालमेलको विषयमा एमाले मकवानपुरका एकजना नेताले भने ‘पूरा जानकारी नलिई बोल्न त मिलेन तर ओलीको ‘ग्रीनसिग्नल’ को छनक चाहिँ पाएका छौं । त्यसैले उहाँको सक्रियता पनि बढेको हुनुपर्छ ।’

तालमेलका लागि एमाले-राप्रपाबीच भेटघाट र छलफल भइरहेको बेला मकवानपुरमा भने कमल थापालाई नै साथ लिने सम्भावना देख्छन् ती नेता ।

राप्रपा नेपालका एक केन्द्रीय नेता भन्छन्, ‘मकवानपुरमा राप्रपा भनेकै कमल दाइलाई बुझ्ने जमात धेरै छ, हामीले एमालेसँग तालमेल गरेको अवस्थामा जित निकाल्छौं भन्ने विश्वासमा छौँ, हिजोको तीतामीठा कुरा भुलेर राष्ट्रवादी शक्ति एक हुने बेला आएको छ ।’

उनले आफूहरुसँग मकवानपुर-१ मा जित्ने प्रशस्त आधारहरू रहेको दाबी गरे ।

एमालेको परम्परागत प्रतिस्पर्धी नै एमालेको सारथी होला त ?

मकवानपुरको राजनीतिक इतिहासको कुरा गर्दा यहाँ एमाले र राप्रपा जहिल्यै प्रतिस्पर्धा शक्ति हुन् । तर, २०६२(०६३ को आन्दोलनपछि राप्रपाले मकवानपुरमा आफूलाई स्थापित गर्न सकेन । बहुदलको स्थापनापछि भएका अधिकांश आम निर्वाचनमा कमल थापा र एमालेकै प्रतिस्पर्धा भयो ।

२०४८, २०५१, २०५६ सालमा उनले मकवानपुर(१ बाट चुनाव लडे तर जित भने २०५१ मा मात्र मिलेको थियो । २०६४ को संविधानसभामा पनि उनी पराजित बने भने २०७० मा समानुपातिकमा रहेर सांसद बने । २०७४ मा उनले कांग्रेससँग गठबन्धन गरेर चुनाव लडेपनि पुरानै प्रतिस्पर्धी एमालेसँग पराजित भए ।

तर, यो पटक उनले पुरानो तथा आफ्नो सबैभन्दा ठूलो प्रतिस्पर्धी एमालेसँगै मिलेर निर्वाचनमा जाने तयारी गरेपछि संसदमा थापाको पुनरागमन हुनसक्ने अड्कलबाजीसहित निर्वाचनको जोडघटाउ हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply