प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने तयारी

कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरस्थित प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्नेभएको छ । सामाजिक विकास मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न चालु आवमा बजेट विनियोजन गरेसँगै सरोकारवालासँग छलफल सुरु गरेको छ । अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने सम्बन्धमा मन्त्रालयद्वारा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाले कर्णाली प्रदेशमा आवश्यक दक्ष स्वास्थ्य जनशक्ति उत्पादनका लागि प्रतिष्ठान अपरिहार्य रहेको बताउनुभयो । अस्पतालका निर्देशक प्रा डा डम्बर खड्काले पर्याप्त भौतिक पूर्वाधार, प्रयोगात्मक अभ्यासका लागि बिरामीको चाप, विभिन्न सङ्काय तत्काल सञ्चालन गर्न सक्ने दश जनशक्ति उपलब्ध भएकाले प्रतिष्ठानका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो । “स्वास्थ्य तथा शिक्षा क्षेत्रको विस्तारका लागि प्रतिष्ठान जरुरी छ, हरेक प्रदेश राजधानीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भइसकेका छन्”, उहाँले भन्नुभयो, “कर्णालीमा पनि स्वास्थ्य क्षमता सुदृढीकरण गर्न, स्वास्थ्य अनुसन्धान गर्न प्रतिष्ठान आवश्यक छ, जरुरी छ ।” निर्देशक डा खड्काले चालु आवमा मिर्गौला प्रत्यारोपण सेवा, क्याथल्याब स्थापनाका साथै एमआरआई मेसिन जडान गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार आगामी तीन वर्षभित्र भवनको तला थपका लागि बहुवर्षे ठेक्का प्रक्रिया सुरु भएको, पाँच सय शय्याको अस्पताल सञ्चालन, बाल अस्पतालको निर्माण र सञ्चालन गर्ने योजना रहेको छ । अन्तक्र्रियामा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा भगवान कोइरालाले प्रतिष्ठानलाई एमबिबिएस पढाउने फेसनमात्र बनाइन नहुने सुझाव दिनुभयो । अस्पताल प्रदेश सरकारको स्वामित्वमा भए पनि प्रतिष्ठान स्थापनाका क्रममा सङ्घीय सरकारसँग समन्वय गर्दा भविष्यमा कानूनी बाधा भोग्ननपर्ने उहाँको भनाइ छ । प्रा डा रमेशनाथ अधिकारीले मुलुकका अन्य अस्पतालको तुलनामा प्रदेश अस्पतालको सेवा प्रवाह उत्कृष्ट भएको औँल्याउँदै भन्नुभयो, “पूर्वाधार र सेवा प्रवाह गौरव गर्न लायक छ, अब दक्ष जनशक्तिलाई अध्ययन, अनुसन्धानमा जोड्न आवश्यकता छ ।” सामाजिक विकासमन्त्री यज्ञबहादुर विसीले प्रदेश सरकारले चालु आवमा अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न, अत्याधुनिक उपकरण, चिकित्सकीय सेवा सुविधा उपलब्ध गराउन रु ५२ करोड ४५ लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । “कर्णालीको स्वास्थ्य शिक्षाको विकासका लागि प्रतिष्ठान स्थापना गर्ने अवधारणा अघि सारिएको हो” उहाँले भन्नुभयो, “प्रदेश अस्पतालको स्तरोन्नति र प्रतिष्ठानका रूपमा विकास गरेर जटिल स्वास्थ्य समस्याको उपचारका लागि प्रदेश बाहिर जान नपर्ने गरी सेवा बढाउँदैछौँ ।” अन्तक्र्रियामा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, प्रा डा अर्जुन कार्की, मध्यपश्चिम विश्वविद्यालयका पूर्वडिन पिताम्बर ढकाललगायतले प्रतिष्ठान स्थापनाका सन्दर्भमा आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो । हाल ३२५ शय्याको अस्पतालमा ८२ चिकित्सक, २०४ नर्ससहित ६४० कर्मचारी छन् । अस्पतालमा दैनिक औसत ४०५ बिरामी भर्ना हुने तथ्याङ्क छ । सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठीकाँडामा विसं २०१९ सालमा स्वास्थ्य केन्द्रका रूपमा स्थापना भई विसं २०२४ मा सुर्खेत उपत्यकामा स्थानान्तरण हुँदै विसं २०२९ मा १५ शयया र २०४९ सालमा २५ शय्याको जिल्ला अस्पतालका रूपमा स्तरोन्नति भएको थियो । विसं २०६२ फागुन ७ गते ५० शय्याको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल २०७५ कात्तिक १३ गते प्रदेश अस्पतालका रूपमा रुपान्तरण भएको थियो । –––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply