नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालद्वारा गोरखा–२ बाट उम्मेदवारी दर्ता

धनगढी : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ ।

 

गोरखा नगरपालिका वडा नं ९ स्थित दलभन्ज्याङमा रहेको प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज दिउँसो उहाँले सत्तागठबन्धनको साझा उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।

 

अध्यक्ष दाहालको उम्मेदवारीमा नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई प्रस्तावक रहनुभएको छ भने माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समर्थक रहनुभएको निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

 

चितवन–३ बाट निर्वाचन लड्ने या गोरखाबाट निर्वाचन लड्ने भन्ने लामो चर्चापछि अध्यक्ष दाहालले आज गोरखा–२ बाट उम्मेदवारी दिनुभएको हो । अध्यक्ष दाहाल उम्मेदवारी दर्ताका लागि पूर्वप्रधानमन्त्री डा भट्टराईसहित, पार्टीका वरिष्ठ नेता श्रेष्ठ, पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज हितराज पाण्डेसहितको टोली लिएर बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुभएको थियो ।

 

सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ (क) मा नेपाल समाजवादी पार्टी (नेसपा)का नेता फडिन्द्र देवकोटा र (ख) मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पनि उम्मेदवारी दर्ता गर्नुभएको छ । त्यस्तै नेकपा (एमाले)बाट गोरखा क्षेत्र नं २ मा अब्दुस मियाँले उम्मेदवारी मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply