चुनावपछि पनि गठबन्धन रहन्छ : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि पनि गठबन्धन कायम रहने बताउनुभएको छ ।

वाम–लोकतान्त्रिक गठबन्धनबाट काठमाडौँ क्षेत्र नं ८ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलहरूबीच रहेको गठबन्धन कायम रहने बताउनुभयो । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ ख को चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने बताउनुभयो ।

विगतको लोकतान्त्रिक आन्दोलनमा सामेल भएका दलहरूबीच बाम–लोकतान्त्रिक गठबन्धन कायम गरिएको भन्दै मन्त्री श्रेष्ठले सत्ता गठबन्धनबीच सहकार्य चुनावपछि पनि जारी रहने बताउनुभयो । संविधान, लोकतन्त्र र संसद्को रक्षाका लागि आफूहरूले गठबन्धन बनाएको उहाँको भनाइ छ ।

जनताको समृद्धिको आकाङ्क्षालाई आगामी निर्वाचनपछि बन्ने सरकारले निरन्तररुपमा अघि बढाउने उहाँले बताउनुभयो । काठमाडौँ ८ मा आफूले सुरु गरेका कयौँ परियोजना निरन्तरताका लागि आफू उम्मेदवार बनेको मन्त्री श्रेष्ठले बताउनुभएको थियो । विगतमा राष्ट्रियसभा निर्वाचनदेखि सुरु भएको गठबन्धन अभ्यास सफल हुँदै आएको बताउनुहुँदै उहाँले गठबन्धनका दलहरूबीच चुनावमा इमान्दारिता कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply