ेधनगढी : सत्तारुढ गठबन्धनले तेश्रो संयुक्त प्रशिक्षण कार्यक्रम पोखरामा गरेका छन् । तीन दलको चुनावी अभियान तीव्रतामा अगाडि बढिरहेको बेला आज शुक्रबार पोखरामा गण्डकी प्रदेश स्तरिय कार्यक्रम गरेका हुन् । यसअघि काठमाडौंको निर्वाचन क्षेत्र नं २, ललितपुरको क्षेत्र नं ३ मा संयुक्त चुनावी प्रशिक्षण कार्यक्रम गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता पोखरा पुगेका छन्।
प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरेका छन्।
देउवा बिहीबार नै पोखरा पुगिसकेका थिए भने प्रचण्ड र माधव नेपाल शुक्रबार मात्रै पोखरा पुगेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा शंका पैदा हुने काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका देउवाले गठबन्धन आजको आवश्यकता भएको बताए । ‘कुनै पार्टीको बहुमत आउन सक्दैन, त्यसैले पार्टीहरू मिल्नुपरेको छ’, उनले भने, ‘गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगरौं ।’
देउवाले अगाडि भने ‘हाम्राबीचमा सबै पार्टीका साथीहरूले कसैले टिकट पाउनुभएन होला, कतिले पाउनुभयो होला । सबै पार्टीमा त्यस्तै छ’, देउवाले भनेका छन्, सबैको पालो आउँछ । गठबन्धनको सरकार बन्यो भने सयौं ठाउँ हुन्छन् ।’