गण्डकी प्रदेशको भावी मुख्यमन्त्रीको दौड रोचक

साठी सदस्यीय गण्डकी प्रदेश सभाका लागि मंसीर ४ गते हुने निर्वाचनको प्रचार प्रसार उत्कर्षतर्फ लम्कँदा सम्भावित मुख्यमन्त्री को हुने भन्ने चर्चाले प्रादेशिक चुनाव रोचक बनेको छ।

चुनावी परिणाम र त्यसपछिको राजनीतिक समीकरणले मात्र भावी मुख्यमन्त्री तय हुने भए पनि कतिपय उम्मेदवारले आफूलाई सम्भावित मुख्यमन्त्रीका रुपमा प्रत्यक्ष अप्रत्यक्ष ढङ्गले प्रस्तुत गर्ने गरेको मतदाताहरू बताउँछन्।

प्रदेशले नयाँ मुख्यमन्त्री पाउने निश्चित

प्रदेश सभाको निर्वाचनपछि गण्डकी प्रदेशले तेस्रो मुख्यमन्त्री पाउने निश्चित छ। यो प्रदेशमा गठबन्धन सरकारको नेतृत्व गरेका वर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली चुनावी दौडमा नै छैनन्।

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन र समानुपातिकतर्फ पनि उनको नाम छैन। गण्डकी प्रदेश सरकारको पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पुन: मुख्यमन्त्री बन्ने इच्छा भए पनि नेकपा एमालेले उनलाई लमजुङबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएपछि प्रदेशले नयाँ मुख्यमन्त्री पाउने निश्चित भएको हो।

मुख्यमन्त्रीको दौडमा को को?

नेकपा एमालेको नेतृत्वमा गण्डकी प्रदेश सरकार बनेमा सङ्घीय सरकारका पूर्व मन्त्री खगराज अधिकारी मुख्यमन्त्रीको दौडमा सबैभन्दा अगाडि छन्।

प्रतिनिधिसभा र प्रदेशसभा दुबैतिर उनको नाम सिफारिस भए पनि केन्द्रीय नेतृत्वले उनलाई प्रदेशसभामा चुनाव लडाएको हुँदा नेकपा एमालेको पक्षमा मत परिणाम आएमा उनी मुख्यमन्त्री हुने लगभग निश्चित भएको पत्रकार पुण्य पौडेल दाबी गर्छन्।

नेपाली कांग्रेसलाई प्रदेश सरकारको नेतृत्व गर्ने अवसर आएमा राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेता भैसकेका गोर्खाका सुरेन्द्रराज पाण्डे, कास्कीका शुक्रराज शर्मा र तनहुँका ध्रुवराज वाग्ले मुख्यमन्त्री पदका लागि इच्छुक भएको चर्चा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply