स्थापनाको छोटो समयमै ६ महिना अघि भएको स्थानीय तह चुनावमा थारु समुदायको बाहुल्यता रहेको कैलालीका चार वटा पालिका जितेर चर्चामा आएको नागरिक उन्मुक्ति पार्टी प्रदेश चुनावमा पनि प्रतिस्पर्धामा उत्रिएपछि कांग्रेस र एमाले नेतृत्वको गठबन्धनको लागि चुनौती बनेको देखिन्छ।
प्रदेश सभाका प्रत्यक्षतर्फ ३२ मध्ये १६ सिट ओगटेको कैलाली र कञ्चनपुर जिल्लामा उक्त पार्टीको बलियो प्रभाव र उपस्थितिले प्रदेश सभाको चुनाव समेत रोचक बनेको छ।
जेलबाटै नेतृत्व
थारु समुदायको बाहुल्यता रहेको दुई जिल्लाका १६ मध्ये १४ प्रदेश सभा सिटमा जेलमा रहेका रेशम चौधरीको पार्टी चुनावी मैदानमा छ। कैलाली र कञ्चनपुरमा प्रत्यक्ष र सुदूरपश्चिमका अरू जिल्लाबाट समानुपातिक उम्मेदवार उठाएको उक्त दलले धेरै सिट जितेको खण्डमा र दुवै गठबन्धनले बहुमत हासिल नगरेको अवस्थामा प्रदेश सरकार गठनमा सो पार्टी निर्णायक भूमिकामा आउनसक्ने कतिपयको अनुमान छ।
कैलालीका नागरिक अगुवा प्रमोद पाठक भन्छन्, “प्रदेशमा मिलीजुली सरकार बनाउने अवस्थामा उन्मुक्ति पार्टीले राम्रो प्रदर्शन गरे निर्णायक शक्ति बन्न सक्छ।”
सुदूरपश्चिमका वरिष्ठ पत्रकार डिआर पन्त उक्त दलले कैलाली र कञ्चनपुरका केही सिट जित्ने र केही सिटमा हारजितमा प्रभाव पार्न सक्ने अवस्था रहेको बताउँछन्।
चुनावपछि यदि निर्णायक शक्ति भए जुन गठबन्धनले आफ्नो दलको नेतालाई मुख्यमन्त्री स्वीकार गर्छ उसैसँग मिलेर सरकार बनाउने योजना रहेको पार्टी प्रवक्ता दामोदर पण्डित बताउँछन्। तर सत्ता गठबन्धन र ठूला दलका नेताहरू भने नयाँ दलले खासै असर नगर्ने दाबी गर्छन्।
गठबन्धनभित्र थारु समुदाय पनि छन्, प्रदेशका सामाजिक विकास मन्त्री समेत रहेका कांग्रेस नेता गोविन्द बोहरा भन्छन्, “गठबन्धनको पक्षमा माहौल देखिएकोले जित सहज छ। भोट मागिरहेका छन्। नयाँ कोही देखिँदैनन्।”
मुख्यमन्त्रीको दौडमा को को?
नागरिक उन्मुक्ति पार्टीबाट मुख्यमन्त्रीको दौडमा रहेकी गीता चौधरी भने ठूला दल र अनुभवी नेतासँग चुनाव लड्न कठिन भए पनि जित भने असम्भव नभएको बताउँछिन्। सुशासन, समृद्धि र पहिचानको मुद्दा लिएर भोट भागिरहेको बताउने उनी भन्छिन्, “असम्भवलाई सम्भव बनाउन नै हामी दिनरात लागिरहेका छौँ।”
थारु समुदायको करिब ३५ प्रतिशत भोट रहेको कञ्चनपुर क्षेत्र नम्बर २ प्रदेश सभा क बाट उक्त समुदायबाट एक्ली महिला उम्मेदवार उनी, पार्टीले सरकारको नेतृत्व गर्ने अवसर पाए जिम्मेवारी लिन पछि नपर्ने उल्लेख गर्छिन्। उक्त क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका ओमविक्रम भाट र एमालेका बचन सिंहसँग गीता चुनावी प्रतिस्पर्धामा छिन्।
सुदूरपश्चिम प्रदेश सभाका प्रत्यक्ष तर्फका ३२ सिटको लागि विभिन्न दल अनि स्वतन्त्र गरी १९२ जना उम्मेदवार चुनावी मैदान छन्। सुदूरपश्चिम प्रदेशमा एकातिर नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादी तथा अर्कोतिर नेकपा एमाले, जसपा र राप्रपा गठबन्धन गरेर चुनाव लडिरहेका छन्।
प्रत्यक्ष तर्फका ३२ सिट मध्ये कांग्रेस १८, माओवादी केन्द्र १२ र एकीकृत समाजवादी २ क्षेत्रमा गठबन्धन गरेर प्रतिस्पर्धामा छन् भने सहयोगी दल जसपा र राप्रपालाई एक–एक सिट छाडेर ३० क्षेत्रमा भने नेकपा एमाले एक्लै प्रतिस्पर्धामा छ।
पाँच दलीय गठबन्धनले जित्यो भने माओवादीका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट मुख्यमन्त्री बन्नेमा ढुक्क देखिन्छन्। आफूसँग ३ पटक चुनाव हारेका उनलाई काँग्रेस सभापति तथा प्रधानमन्त्री प्रधानमन्त्री देउवाले नै विभिन्न चुनावी सभामा भावी मुख्यमन्त्री भनेर प्रचार गरिरहेका छन्।
देउवा र प्रचण्डबाट मुख्यमन्त्रीको आश्वासन पाएर प्रदेश सभा झरेर डडेलधुरा प्रदेश सभा ख बाट चुनावी प्रतिस्पर्धामा रहेका उनी भन्छन्, “गठबन्धनका शीर्ष नेताहरू म प्रति सकारात्मक हुनुहुन्छ। कसलाई मुख्यमन्त्री बनाउने भन्नेमा उहाँहरूले एक किसिमको मानसिकता बनाइ सक्नु भएको छ।”
तर कांग्रेसबाट मुख्यमन्त्रीका आकाङ्क्षी समेत रहेका सामाजिक विकास मन्त्री गोविन्द बोहरा भने मुख्यमन्त्रीमा आकाङ्क्षा राख्नु स्वाभाविक भए पनि को मुख्यमन्त्री हुने भन्ने कुराचाहिँ गठबन्धनबिचको समझदारीमा भर पर्ने बताउँछन्।
कांग्रेस र माओवादीबिच आलोपालो सत्ताको नेतृत्व गर्ने सहमति भए देउवाका विश्वासपात्र मानिने बोहरा मुख्यमन्त्री बन्ने कतिपय बताउँछन्।
पार्टी सभापति देउवाले माओवादीका भट्टलाई मुख्यमन्त्रीको रूपमा अघि सारे पनि कांग्रेसबाट बोहरासहित आन्तरिक मामिला तथा कानुन मन्त्री डा रणबहादुर रावल, कञ्चनपुरका पुराना नेता बहादुर थापा, दिवानसिंह विष्टलगायत मुख्यमन्त्रीको दौडमा रहेको बताइन्छ। उनीहरू सबैले आफूले चुनाव जिते मुख्यमन्त्री बन्ने भन्दै मतदातासँग भोट मागिरहेका छन्।
कांग्रेसबाट मुख्यमन्त्रीका बलिया दाबेदार मानिएका रावल कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा क, बोहरा डडेलधुरा प्रदेश सभा ख, थापा र विष्ट कञ्चनपुरबाट चुनावी प्रतिस्पर्धामा छन्।
कांग्रेसजस्तै नेकपा एमालेमा पनि मुख्यमन्त्रीका आकाङ्क्षी धेरै देखिन्छन्। डडेल्धुराका पठानसिंह बोहरा, कञ्चनपुरका सुरेन्द्र बिष्ट, डोटीका चक्र मल्ललगायतले मुख्यमन्त्रीमा आकाङ्क्षा राखेका छन्। डडेल्धुरा प्रदेश सभा क मा मुख्यमन्त्रीका दुई जना आकाङ्क्षी पठानसिंह बोहरा र खगराज भट्टबिचको प्रतिस्पर्धा भने रोचक हुने देखिन्छ। उनीहरू मध्ये कसले चुनाव जित्ला र को मुख्यमन्त्री बन्ला भन्नेमा धेरैको चासो छ।
नेकपा एकीकृत समाजवादीबाट पनि प्रदेशका भौतिक पूर्वाधार मन्त्री दीर्घबहादुर सोडारी मुख्यमन्त्रीको आकाङ्क्षी देखिन्छन्।
कैलाली क्षेत्र नम्बर ४ प्रदेश सभा क बाट चुनाव लडेका उनले यसअघि मुख्यमन्त्री बन्न गरेको प्रयास भने सार्थक भएको थिएन। पूरा कार्यकाल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री भएका त्रिलोचन भट्ट भने यसपालि चुनावी मैदानमा छैनन्।
तीन दशकदेखि एउटै एजेन्डा
राजनीतिक दल र नेताहरूको केही नयाँ एजेन्डा नभएको र तीन दशकदेखि एउटै मुद्दामा चुनाव लडिरहको सुदुरपश्चिमबासी बताउँछन्। उनीहरू भन्छन्, – “उही पश्चिम सेती, उही पञ्चेश्वरको कुरा गर्छन्, अनि जडीबुटीको हर्बल उद्योग खोल्छौ भनेर भोट मागिरहेका छन्। नयाँ केही देखिँदैन।”