मतदाताले बजाए आक्रोशको घण्टी

एउटा शान्त लहर उठेर आएको छ ‘घण्टी’ को पक्षमा । गणतन्त्र स्थापनापछिको तेस्रो, अनि नयाँ संविधान जारी भएपछिको दोस्रो आम चुनावले परम्परागत संसदीय शक्तिहरुमा अक्षुण्ण रहेको मतभार अन्यत्र सर्दै गएको देखाएको छ ।

विगतमा कांग्रेस, एमाले, माओवादी केन्द्रमा भोट हाल्दै आएका मतदातामध्ये थुप्रैले यसपल्ट नयाँ पार्टी र उम्मेदवारतर्फ झुकाव देखाएका छन् । तीमध्ये कतिपयले स्वतन्त्र उम्मेदवारहरुलाई समेत अनुमोदन गरेका छन् । सम्भवतः अन्तिम परिणाम आइसक्दा नतिजाको ठूलो हिस्सा कांग्रेस र एमालेकै पोल्टामा हुन सक्ला । तर समानुपातिक प्रणालीतर्फ खसेका मतहरुको समेत सुरुवाती रुझान अध्ययन गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ठूलो प्रभाव पार्ने प्रष्ट देखिन्छ ।

विगतमा कांग्रेस, एमाले र माओवादीलाई भोट हालेका थुप्रै मतदाताले यसपल्ट रास्वपाको चुनाव चिह्न ‘घण्टी’ लाई अनुमोदन गरेका छन् । तुलनात्मक रुपमा एमालेले संगठित मतलाई संरक्षण गर्न सकेको देखिन्छ । तर उसको मत पनि विगतको भन्दा बाँडिएको हाम्रा तथ्यांकहरुले प्रष्टै देखाउँछन् ।

रवि लामिछाने नेतृत्वमा भर्खरै खुलेको यो दलले भ्रष्टाचारमुक्त समाज बनाउने, सुशासन र विकास दिने भनी गरेका वाचातर्फ जनलहर आकर्षित छ । अनि यसभन्दा अघि संसदमा ठूलो हैसियतमा रहेका एमाले, कांग्रेस, माओवादीप्रति नागरिकहरु चरम निराश र आक्रोशित भएको उनीहरुका जवाफले बताउँछ । ठूला तीन दलले एकलाई अर्कोको विकल्प भनी अहिलेसम्म अथ्र्याउँदै आएकोमा प्रारम्भिक मत संकेतले हरेक विकल्पको पनि विकल्प छ भन्ने सन्देश दिएको छ ।

विगतका चुनावभन्दा मतदाता अझै चलायमान देखिएका छन् । आ–आफ्ना चुनाव चिह्नलाई दलहरुले पवित्र आस्थाको अभिव्यक्तिका रुपमा प्रचार गर्दै आए पनि मतदाताले यस्तो तर्क मान्न छाडेको देखिन्छ । कतिपयले यसलाई राजनीतिक अस्थिरता र अराजनीतिक सोचसँग जोडेर व्याख्या गरे पनि त्यो आम नागरिकको न्यूनतम चेतनामाथिको अविश्वास ठहर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply