सप्तरीका मतदाताले यसपटक अधिकांश नयाँ उम्मेदवारलाई निर्वाचित गराएका छन् । चार प्रतिनिसभा र आड प्रदेशसभा रहेको जिल्लामा १२ मध्ये आठ जना नयाँ उम्मेदवार निर्वाचित भएका छन् ।
सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत पनि पहिलो पटकमै सांसद् बन्दै हुनुहुन्छ । राउतले ३५ हजार ४२ मत ल्याउँदा गत निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित उपेन्द्र यादवले १६ हजार नौ सय ७९ मतमात्र ल्याउनुभयो ।
सप्तरी निर्वाचन क्षेत्र नं ३ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेशकुमार यादव चौथो पटकको प्रयासमा संसद् भवनको टिकट पाउनुभएको छ । यसअघि तीनपटक पराजय भोगिसक्नुभएका यादवले नेकपा (एमाले)का ताराकान्त चौधरीलाई पराजित गर्नुभयो ।
सप्तरी १ (१) बाट एमाले केन्द्रीय सदस्य राजकुमार लेखी प्रदेशसभा सदस्य बन्नुभएको छ भने सप्तरी १ (२)बाट सकिल मियाँ प्रदेशसभा सदस्य बन्नुभएको छ । मियाँ पहिलोपटक संसदीय चुनावमा होमिएको जनमत पार्टीका उम्मेदवार हुनुहुन्थ्यो । उहाँ जिल्ला विकास समिति सप्तरीको सदस्य रहिसक्नुभएको छ ।
निर्वाचित हुने नयाँ अनुहारमा सप्तरी–२ (१) बाट जनमत पार्टीका सतिशकुमार सिंह पनि हुनुहुन्छ । उहाँ तिलाठी कोइलाडी गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत हुनुहुन्छ । गत स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा उम्मेदवार यहाँ पराजित भएपछि लोसपा परित्याग गरी जनमत पार्टीबाट उम्मेदवार बन्नुभएको हो ।
सप्तरी–२ (२)बाट जनमत पार्टीका निर्वाचित महेशप्रसाद यादव पनि नयाँ अनुहार हुनुहुन्छ । उहाँ यसअघिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट प्रदेशसभा सदस्यमा उम्मेदवार हुनुहुन्थ्यो ।
सप्तरी ३ (२) बाट विजयी जनमत पार्टीकै शम्भुकुमार साह पनि राजनीतिमा नयाँ हुनुहुन्छ । साथै, सप्तरी-४ (२) सदस्यमा पहिलो पटक निर्वाचित स्वतन्त्र उम्मेवार अनिरुद्धकुमार सिंहले नौ हजार नौ सय ८५ मत प्राप्त गर्नुभयो ।
यसरी आठ जना नयाँ अनुहार संसद्मा भित्रिँदा जसपा अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव र बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री विश्वेन्द्र पासवानको संसद् भवन जाने बाटो बन्द भएको छ ।
मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, पूर्वमन्त्री हेमराज तातेड, उमेशकुमार यादव, अनिस अन्सारी, संविधानसभा सदस्य ताराकान्त चौधरी, अशोकुमार मण्डल, निवर्तमान प्रदेशसभा सदस्य विदेश्वरप्रसाद यादव र अभिषेक यादव दोहोरिएर संसद् बन्न सक्नुभएन ।
प्रदेशसभा सदस्यमा एक-एक स्थानमा जित हासिल गरेका कांग्रेस र नेकपा (समाजवादी केन्द्र)का प्रदेशसभा सदस्यबाहेक सबै नयाँ अनुहार हुन् ।