छाडा गाईको संरक्षणमा जुटेका नरबहादुर

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–३ का नरबहादुर सुनार स्थानीय छाडा गाईको संरक्षणमा लाग्नुभएको छ । करिब एक दशकअघिदेखि स्थानीय प्रजातिका छाडा गाईको संरक्षणमा लाग्नुभएका सुनारको दिनचर्या गौशालामा रहेका गाईको स्याहारसुसार र रेखदेखमा बित्ने गरेको छ ।

सुनारले २०६८ सालमा दुई छाडा गाई राखेर संरक्षण अभियान सुरु गर्नुभएकामा अहिले गौशालामा ८५ गाई छन् । सुनार एक्लैले गौशालामा गाईको रेखदेख गर्दै आउनुभएको छ । बजार क्षेत्रमा स्थानीयले छाडारूपमा छाडेका गाई गौशालामा राख्ने गरिएको उहाँले बताउनुभयो । स्थानीय गाईको सङ्ख्या कम हुँदै गएकाले समेत यसको संरक्षण गर्नुपर्छ भनेर आफू लागेको सुनारको भनाइ छ ।

सुरुआतमा आफू एक्लैले पहल गरेको भए पनि हाल स्थानीयस्तरमा यसको संरक्षणमा आवश्यक सहयोग हुँदैआएको सुनारले बताउनुभयो । दानाका लागि चापट, पराल स्थानीयस्तरबाटै सहयोग हुने गरेको छ । “सुरुमा एक्लै लागे, गाई पनि थोरै थिए, अहिले गाई धेरै छन्, दाताले दाना, परालका लागि बेला–बेलामा सहयोग गर्दैआएका छन्”, उहाँले भन्नुभयो ।

धार्मिक दृष्टिकोणबाट गाईको महत्व हुने र स्थानीय जातको गाई लोप हुँदै जान थालेपछि यसको संरक्षण गर्नुपर्छ भनेर अभियान थालिएको हो । गाई संरक्षणबाट कृषि पेशामा लाभ मिलेको छ । प्राङ्गारिक मल उत्पादन हुँदा यसको प्रयोगले कृषि उत्पादन बढाउन सहज भएको सुनारले बताउनुभयो । प्राङ्गारिक मल अभाव हुँदा रासायनिक मल प्रयोग गर्ने चलन छ । यसले माटोलाई बिगार्दै जाँदा क्रमशः उत्पादनमा ह्रास आउँछ ।

गौशालामा उत्पादन भएको प्राङगारिक मल कृषकले लैजाने गरका छन् । “हामीले मल बिक्री गर्दैनाँै, तर कृषकले पराल ल्याउनुहन्ुछ, सोहीअनुसार मल लैजाने गर्नुहुन्छ, कृषि उत्पादन बढाउन समेत यसले सहयोग पुगेको छ”, सुनारले भन्नुभयो ।

धार्मिक दृष्टिले समेत गाईको महत्व रहेकाले गौशाला निर्माण गरी संरक्षण हुँदा बजार क्षेत्रका बासिन्दालाई लाभ छ । तिहारको समयमा कावासोतीको बजार क्षेत्रमा घरमा गाई नहुनेले पूजाआजाका लागि गौशालामा आउने गरेका छन् । “कृषि र धार्मिक प्रयोजनका लागि उचित ठानेरै छाडा गाईको संरक्षणमा लागेको हुँ”, उहाँले भन्नुभयो ।
छाडा गाईले बजार क्षेत्रमा दुर्घटनाको जोखिम हुने, बालीनाली नष्ट गर्ने गरेकामा त्यस्ता गाईलाई गौशालामा राख्दा एकातर्फ दुर्घटनाको जोखिम कम हुने, बालीनालीमा क्षति नहुने हुँदा संरक्षण आवश्यक भएको कावासोती–३ का वडाध्यक्ष डोरमान गिरीले बताउनुभयो । गौशाला व्यवस्थित गरी सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

गाईको सङ्ख्या बढ्दै जाँदा चरनको अभाव भएको सुनारको भनाइ छ । गाईका लागि दाना र परालको समस्या हुने गरेको छ । बेला–बेलामा विभिन्न सहयोगीले दाना, चापट र पराल सहयोग गर्ने गरेकाले केही राहत मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply