होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको अधिवेशन पोखरामा

होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको प्रथम अधिवेशन यही चैत २५ र २६ गते पोखरामा गरिने भएको छ । सो बारेमा जानकारी दिन आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष अर्जुन चोखालले उक्त जानकारी दिनुभयो ।

उहाँले मुक्तिनाथ दर्शनका लागि आएका भारतीय र केही आन्तरिक पर्यटकको आगमनले गण्डकीको पर्यटन व्यवसाय धानिएको बताउनुभयो । चैतको पहिलो हप्ता मुक्तिनाथ जाने पर्यटकले धवलागिरिका सम्पूर्ण होटल तथा रेष्टुराँ भरिएको जानकारी पनि उहाँले दिनुभयो ।

कोरोना तथा फ्रान्स र युक्रेन युद्धका कारण थला परेको पर्यटन व्यवसाय पछिल्लो समय खर्च धान्ने अवस्थामा पुगेको उहाँले जानकारी दिनुभयो । “यतिबेला कमाउने अवस्था त छैन, जेनतेन खर्च धानेको मात्र छ”, अध्यक्ष चोखालले भन्नुभयो, “नेपाल सरकारले पर्यटन व्यवसायीलाई बैंकको चर्को ब्याज घटाइदिए मात्र व्यवसाय अगाडि बढ्न सक्छ ।”

दुई दिनसम्म चल्ने महासङ्घको अधिवेशनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गर्ने कार्यक्रम रहेको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो । अधिवेशनमा गण्डकी प्रदेशअन्तर्गत ११ जिल्लाका जिल्ला सङ्घ र स्थानीय तह एकाइका गरी एक सय २० प्रतिनिधिले सहभागिता जनाउने बताइएको छ ।

महाधिवेशन उद्घाटन कार्यक्रममा गण्डकीको कला, संस्कृति र पहिचान झल्काउने समुदायगत सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिने जानकारी संस्थाका महासचिव देवेन्द्र लम्सालले जानकारी दिनुभयो । गण्डकीमा छ हजारभन्दा बढी होटल तथा रेष्टुराँ सञ्चालनमा रहेको र ५४ हजार बढीले रोजगारी प्राप्त गरेको जानकारी पनि सो अवसरमा दिइएको थियो । यस क्षेत्रका होटलमा रु ६२ अर्बको लगानी रहेको बताइएको छ । पछिल्लो समय स्थानीय तहमा होटल तथा रेष्टुराँ सञ्चालनमा वृद्धि भइरहेको सो अवसरमा जनाइएको छ ।

महासचिव लम्सालले अधिवेशनबाट व्यवसायीको हितमा नीति तथा कार्यक्रम ल्याउनेलगायतका मुद्दा अगाडि सारिने बताउनुभयो । महाधिवेशन तयारीका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको जानकारी सो अवसरमा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply