सिसीक्यामेरा अपराध अनुसन्धानको सारथी

गत असार २५ गते बागलुङ बजार नजिकै अपरिचित व्यक्तिबाट बलात्कृत भएको भन्दै कास्कीको पोखरा महानगरपालिकाकी एक युवतीले प्रहरीमा जाहेरी दिइन् । बागलुङ नगरपालिका–१ मालढुङ्गा नजिकैको जङ्गलमा बलात्कृत भएको प्रहरीमा दर्ता भएको जाहेरीमा उल्लेख छ ।

हुलियासमेत राम्रोसँग याद नगरेकी युवतीको जाहेरीपछि प्रहरीले आरोपीको खोजी गर्न थाल्यो । तर एकै दिनमा आरोपी फेला पर्नेमा प्रहरी ढुक्क थिएन । युवतीले बलात्कार गर्ने व्यक्ति युवा भएको बताएकी थिइन् । पीडितलाई न्याय दिलाउन प्रहरीले अनुसन्धान थाल्यो । प्रहरीको अनुसन्धानको सारथी बन्यो मालढुङ्गामा जडान गरिएको सिसीक्यामेरा ।

मालढुङ्गा नजिकैको जङ्गल घटनास्थल भएकाले प्रहरीले त्यही क्षेत्रमा शङ्कास्पद व्यक्तिको खोजी थाल्यो । बलात्कार गरेका व्यक्ति त्यहाँबाट फरार भइसकेको भए पनि युवतीले दिएको सामान्य हुलियाका आधारमा सिसीक्यामेराको मद्दतमा आरोपी फेला परे । “शङ्कास्पद व्यक्तिबारे सिसीक्यामेराबाटै जानकारी लियौँँ”, प्रहरी निरीक्षक राजाराम खड्काले भन्नुभयो– “श्रव्यदृश्य र तस्बिरकै आधारमा हामी आरोपी नजिकै पुग्यौँ ।” गत असार २६ गते गुल्मीको कालीगण्डकी गाउँपालिका–७ छापचौरका २८ वर्षीय विमल हमाल बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराबाट पक्राउ परे ।

सुरुआतमा केरकार गर्दा आरोप अस्वीकार गरेका हमालले सिसीक्यामेराको श्रव्यदृश्य देखाएपछि अपराध स्वीकार गरेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । अहिले उनीविरुद्ध जिल्ला अदालतबाट म्याद थप भएर अनुसन्धान भइरहेको छ ।

प्रहरीलाई सिसीक्यामेराले सघाएको यो पहिलो घटना भने होइन । केही महिनाअघि बागलुङ नगरपालिका–१ माझीबस्तीकी फूलमाया माझीको हत्यामा संलग्नलाई पनि प्रहरीले सिसीक्यामेराकै मद्दतमा पक्राउ गरेको थियो । लामो समयपछि बागलुङ बजारभित्र सिसीक्यामेरा व्यवस्थापन गर्ने काम भएपछि अपराध अनुसन्धान र नियन्त्रणमा सहज भएको उहाँ बताउनुहुन्छ ।

बागलुङ नगरपालिका र उद्योग वाणिज्य सङ्घ तथा सुरक्षा निकायको सहकार्यमा बजार क्षेत्रमा सिसीक्यामेरा जडान गर्न थालिएको हो । गत आर्थिक वर्षमा बागलुङ नगरपालिकाको रु १२ लाख अनुदान र उद्योग वाणिज्य सङ्घको रु तीन लाख ५० हजारको लागतमा बजार भित्रिने र बाहिरिने मुख्य नाका तथा मुख्य चोकमा १३ सिसीक्यामेरा जडान गरिएका छन् ।

चालु आर्थिक वर्षमा थप १४ सिसीक्यामेरा जडानका लागि काम भइरहेको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताउनुभयो । “बैंकले १४ क्यामेराका लागि सहयोग गरेको छ, छिट्टै काम सकिन्छ”, उहाँले भन्नुभयोे । बागलुङ बजारमा एक सय ८६ सिसीक्यामेरा जडान गर्ने योजना छ । बागलुङ–१ मालढुङ्गाबाट वडा नं ४ को तिरुपति चोकसम्म रु १५ लाख खर्चेर फाइवर बिछ्याउने काम सकिएको कँडेलले बताउनुभयो । बहुवर्षीय योजना भएकाले क्रमैसँग क्यामेरा जडान हुने उहाँले बताउनुभयो ।

“प्रहरी कार्यालयमा कन्ट्रोल रुम बनाउनेदेखि फाइवर बिछ्याउनेसम्मका काम भइसकेका छन्”, कँडेलले भन्नुभयो । बागलुङ बजारको शान्ति सुरक्षालाई ध्यानमा राखेर बजारका विभिन्न चोकमा सिसीक्यामेरा जडान गर्ने प्रक्रिया अघि बढेको छ । यसअघि बागलुङ बजारमा जडान भएका २९ सिसीक्यामेरा प्रयोगविहीन छन् । नेपाल विद्युत् प्राधिकरणले विद्युत्का पोल स्थानान्तरण गर्ने क्रममा बिग्रिएका र निकालिएका सिसीक्यामेरा पुनः जडान हुन नसक्दा बागलुङ बजारमा हुने आपराधिक घटनाको अनुसन्धानमा समस्या हुँदै आएको थियो । बागलुङ–४ उपल्लाचौर र पाखाथरमा समेत मुख्य चोकमा सिसीक्यामेरा जडान गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply