नेपालले सन् २०१४ को आइसिसी टी-२० विश्वकप खेले

नेपालले सन् २०१४ को आइसिसी टी-२० विश्वकप खेलेको थियो। सन् २०१३ मा भएको छनोट पार गरेर पहिलो पटक विश्वकप खेलेपछि नेपालमा क्रिकेटको उचाइ ह्वात्तै बढेको थियो।

त्यसयता भने नेपाल विश्वकपमा छनोट हुन सकेको छैन। लगातार तीन पटक विश्व छनोटमा असफल भएको नेपालले भोलि (सोमबार) देखि काठमाडौंमा सुरू हुने आइसिसी टी-२० विश्वकप २०२४ का लागि एसिया छनोट खेल्दैछ। नेपाल चौथो प्रयासमा टी-२० विश्वकपमा फर्कने योजनामा छ।

छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। यो समूहमा नेपालसहित सिंगापुर, मलेसिया र ओमान छन्।

अर्को समूहमा युएई, हङकङ, बहराइन र कुवेत छन्। खेलहरू कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा कात्तिक १३ देखि १९ गतेसम्म चल्नेछ।
समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जित्ने दुवै टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुनेछन्।

समूहमा नेपाल र ओमान एकदिवसीय मान्यता प्राप्त टिम हुन्। तुलनात्मक रूपमा नेपाललाई समूहमा ओमान बलियो प्रतिद्वन्द्वी हो। तर टी-२० मा कुनै पनि टिमलाई कमजोर आँक्ने गल्ती नगर्ने नेपालका कप्तान रोहितकुमार पौडेल र प्रशिक्षक मोन्टी देसाइको भनाइ छ।

अर्को समूहमा विश्वकप खेलिसकेका युएई र हङकङ विश्वकप खेलिसकेका टिम हुन्। समूह चरणमा अपेक्षाकृत प्रदर्शन गरेमा नेपालले सेमिफाइनलमा युएई वा हङकङको सामना गर्न सक्ने आकलन छ। तर कुवेत र बहराइनले पनि उपक्षेत्रीय छनोट पार परेर अन्तिम छनोटमा स्थान पक्का गरेकाले उनीहरूलाई कमजोर आँक्न मिल्दैन। सेमिफाइनल पुगेर अर्को समूहबाट छनोट भएको टिमलाई पराजित गरे नेपाल १० वर्षपछि टी-२० विश्वकपमा पुग्नेछ।

१० वर्षपछि विश्वकपमा छनोट हुने लक्ष्यमा रहेको नेपालका हालका अधिकांश खेलाडी सन् २०१४ को विश्वकप हेरेर क्रिकेटमा आकर्षित भएको कप्तान पौडेल बताउँछन्। घरेलु मैदानमा विश्वकप छनोट खेल्न पाउनु नेपालका लागि सुनौलो अवसर भएको उनले बताए।

‘हाल हाम्रो टिममा रहेका अधिकांश खेलाडीले सन् २०१४ को टी-२० विश्वकपमा नेपालले खेलेको हेरेका थिए। अहिले फेरि हाम्रो सामू विश्वकपमा छनोट हुने अवसर छ। त्यसका लागि हामी सबै खेलाडी उत्साहित छौं,’ कप्तान पौडेलले विश्वकप छनोटको पूर्वसान्ध्यामा भने।

सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेका खेलाडीमध्ये सोमपाल कामी मात्र अहिले नेपाली टिममा छन्।

कप्तान पौडेलले घरेलु मैदानमा खेल हुने भएकाले पनि नेपाली टिम उत्साहित भएको बताए।

टी-२० विश्वकप छनोटअघि नेपालले घरेलु मैदानमा युएई र हङकङसँग त्रिकोणात्मक टी-२० सिरिज खेलेको थियो। सिरिजको लिग चरणमा चारै खेल जितेको नेपाल फाइनलमा भने युएईसँग पराजित भएको थियो।

युएईसँग फाइनलमा पराजित भएपछि आफ्नो कमजोरी सुधार गर्न मौका मिलेको कप्तान पौडेलको भनाइ छ।

११ वर्षमा छैटौं पटक छनोट खेल्दै नेपाल

नेपालले सन् २०१२ युएईमा भएको विश्व छनोट खेलेको थियो। त्यतिबेला नेपाल सातौं भएको थियो।

नेपालले सन् २०१३ को विश्व छनोटमा भने उत्कृष्ट खेलेको थियो। जहाँ नेपाल तेस्रो हुँदै सन् २०१४ को टी-२० विश्वकप पुगेको थियो।

सन् २०१५ को विश्व छनोटमा भने नेपालको प्रदर्शन राम्रो हुन सकेन। आयरल्यान्ड र स्कटल्यान्डमा भएको प्रतियोगितामा समूहको पुछारमा रहँदै बाहिरिएको थियो।

सन् २०२१ मा युएईमा भएको विश्वकपका लागि २०१९ मा सिंगापुरमा एसिया छनोट खेल भएको थियो। जहाँ नेपालले खराव प्रदर्शन गर्दा सन् २०१२ पछि विश्व छनोट खेल्ने अवसर गुमाएको थियो।

सन् २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपको छनोटमा पनि नेपाल सफल भएन। दुई वर्षअघि ओमानमा भएको छनोटमा नेपालले समूह चरणमा सहज जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो। तर सेमिफाइनलमा जिते हात पारे विश्वकपमा पुग्ने खेलमा भने नेपाल असफल भयो।

फागुन २०७८ मा ओमानमा भएको सेमिफाइनलमा नेपाल युएईसँग ६८ रनले पराजित हुँदा ८ वर्षपछि विश्वकप खेल्ने सपना चकनाचुर भएको थियो।

नेपालले सन् २०२४ को विश्वकपमा छनोट हुन यसपटक लागि चार टिम सम्मिलित समूहमा सुरूमा शीर्ष दुईमा पर्नु पर्ने हुन्छ। त्यसपछि हुने सेमिफाइनलमा जित हात पारे नेपालले १० वर्षपछि विश्वकप खेल्नेछ।

यसपटक क्षेत्रीय छनोटबाट सिधा विश्वकपमा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन् २०२४ को टी-२० विश्वकपमा लागि क्षेत्रीय छनोट प्रतियोगिताबाट टिमहरू छानिरहेको छ। यसअघि आइसिसीले विश्व छनोटबाट टिम छनोट गर्ने गरेको थियो।

क्षेत्रीय छनोटका लागि आइसिसीले एसिया, अफ्रिका र युरोपलाई २-२ वटा कोटा निर्धारण गरेको छ। यस्तै अमेरिका र इस्ट एसिया प्यासेफिकबाट १-१ टिम गरी कुल ८ टिम सन् २०२४ को विश्वकपमा छनोट हुने छन्।

जसमा युरोपबाट आयरल्यान्ड र स्कटल्यान्ड, इस्ट एसियाबाट पपुवा न्युगिनी र अमेरिकाबाट क्यानडाले विश्वकपमा स्थान पक्का गरिसकेका छन्। अब एसिया र अफ्रिका छनोटबाट कुल २-२ टिम गरी ४ टिम छनोट हुन बाँकी छ।

पहिलो पटक टी-२० विश्वकपमा २० टिम

अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्दैछन्।

पहिलो पटक उत्तर अमेरिका क्षेत्रमा हुन लागेको टी-२० विश्वकपमा २० टिमले सहभागिता जाउँदैछन्।

सन् २०२४ को टी-२० विश्वकपमा १२ टिम सिधै छनोट भएका छन् भने ८ टिमले क्षेत्रीय छनोट चरण पार गर्दैछन्।

गत वर्षको अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा भएको टी-२० विश्वकपको शीर्ष ८ टिम २०२४ को विश्वकपका लागि सिधा छनोट भइसकेका छन्।

जसमा अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाले शीर्ष आठमा परेर २०२४ को विश्वकपका लागि स्थान पक्का गरिसककेका छन्।

अमेरिका र वेस्ट इन्डिज आयोजकको हैसियतमा छनोट भइसकेका छन्। अमेरिकाले पहिलो टी-२० विश्वकप खेल्दैछ।

१४ नोभेम्बर २०२२ सम्मको विश्व वरीयतालाई अर्को छनोटको आधार मानिएको थियो। जसबाट अफगानिस्तान र बंगलादेशले टी-२० विश्वकपमा स्थान बनाइसकेका छन्।

सिधा छनोट भएका टिम

टी-२० विश्वकप २०२२ को शीर्ष ८ टिम: अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका

आयोजक: अमेरिका र वेस्ट इन्डिज गरी २ टिम

आइसिसी विश्व वरीयताका २ टिम: अफगानिस्तान र बंगलादेश

जम्मा १२ टिम

क्षेत्रीय छनोटबाट

अफ्रिका – २ टिम
अमेरिका – १ टिम (क्यानडा)
एसिया – २ टिम
इस्ट एसिया प्यासेफिक – १ टिम (पपुवा न्युगिनी)
युरोप – २ टिम (आयरल्यान्ड र स्कटल्यान्ड)
जम्मा – ८ टिम

नेपालको खेल

नेपाल भर्सेस सिंगापुर– कात्तिक १३- त्रिवि मैदान – विहान ९ बजे
नेपाल भर्सेस मलेसिया – कात्तिक १४ – त्रिवि मैदान – दिउँसो १:१५ बजे
नेपाल भर्सेस ओमान – कात्तिक १६ – त्रिवि मैदान – विहान ९ बजे
सेमिफाइनल १ (त्रिवि मैदान), सेमिफाइनल २ (मुलपानी) – कात्तिक १७ – विहान ११ बजे
फाइनल – कात्तिक १९- त्रिवि मैदान – विहान ११ बजे

नेपाली टिम

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनास बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply