नेपाल टी—२० विश्वकप क्रिकेटमा छनोट

नेपाल टी—२० विश्वकप क्रिकेटमा छनोट भएको छ । नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएको हो । जितसँगै नेपाल एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पनि पुगेको छ । नेपालले अब आइतबार हुने फाइनलमा ओमानसँग उपाधिका लागि भिडन्त गर्नेछ । ओमान भने शुक्रबार नै खेलिएको सेमीफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा पुगेको हो । जारी छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोलीले आगामी टी—२० विश्वकप खेल्न पाउने प्रावधान छ । टी—२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । जुन ४ देखि ३० सम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी—२० विश्वकपमा सहभागी हुने अब दुई टोलीको टुंगो लाग्न बाँकी छ । उक्त विश्वकपमा २० टोलीको सहभागिता रहने छ । हालसम्म १८ टोली छनोट भइसकेका छन् । अब अफ्रिकी क्षेत्रबाट दुई राष्ट्र छानिने छन् । नेपालले दोस्रो पटक टी—२० विश्वकप खेल्ने अवसर पाएको हो । यसअघि नेपालले सन् २०१४ मा टी—२० विश्वकप खेलेको थियो । नेपाली टोली बंगलादेशमा आयोजित त्यो विश्वकपको प्रारम्भिक चरणबाटै बाहिरिएको थियो ।सेमिफाइनल खेलमा टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको यूएईले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १७.१ ओभरमा दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । नेपालको जितमा ओपनर ब्याट्सम्यान आसिफ शेखले उत्कृष्ट अर्धसतकीय पाली खेले । उनले ५० बलमा दुई छक्का र ६ चौकाको मद्दतले अविजित ६३ रन बनाए । त्यसअघि उनले केवल ३९ बलमा एक छक्का र ६ चौकाको मद्दतले अर्धसतक पुरा गरेका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान गुल्सन झाले २२ रनको योगदान गरे । उनले २४ बलमा तीन चौका हिर्काएका थिए । त्यसअघि अर्का ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले भने आठ बलमा दुई चौकाको मद्दतले ११ रन बनाउँदै पेभेलियन फर्किएका थिए । कप्तान रोहित पौडेलले २१ बलमा एक छक्का र तीन चौकाको मद्दतले अविजित ३५ रन बनाए । यूएईका बलर निलान्श केशवानी र बासिल हमिदले एक—एक विकेट लिए । नेपालले अतिरिक्त रुपमा चार रन पाएको थियो ।

त्यसअघि टस जिती पहिले ब्याटिङको निर्णय लिएको यूएईका लागि विकेटकिपर ब्याट्सम्यान वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाएका थिए । उनले ५१ बलको सामना गरी दुई छक्का र आठ चौका हिर्काएका थिए । उनी यूएईको सातौँ विकेटका रुपमा पेभेलियन फर्किएका थिए । उनलाई कुशल मल्लले गुल्सन झाद्वारा क्याच गराएका थिए ।

त्यसलगत्तै कुशल मल्लले यूएईका अर्का ब्याट्सम्यान आयान अफजल खानलाई आउट गराएका थिए । कुशल मल्लले आयानलाई एक रनको ब्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । उनी आठौँ विकेटका रुपमा पेभेलियन फर्किएका थिए । यूएईका लागि ओपनर ब्याट्सम्यान मुहम्मद वसिमले पनि २६ रन बनाएका थिए । यूएईका कप्तानसमेत रहेका वसिमले १६ बलमा दुई छक्का र तीन चौका हिर्काएका थिए । टोलीको खातामा आसिफ खानले १३ रन थपे । एलिसन सराफुले १६ रन जोडेका थिए ।

नेपाली टोलीका बलर कुशल मल्लले तीन विकेट लिएका थिए । उनले तीन ओभरमा ११ रन खर्चिएका थिए । सन्दीप लामिछानेले दुई विकेट हात पारेका थिए । स्पिनर लामिछानेले चार ओभरमा एक मेडन राख्दै केवल १४ रन खर्चिएका थिए । सोमपाल कामी र रोहित पौडेलले पनि एक—एक विकेट हात पारेका थिए ।

यूएईले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान खालिद शाहलाई गुमाएको थियो । उनी तीन रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका थिए । उनलाई सोमपाल कामीले रन आउट गराएका थिए । उनी आउट हुँदा यूएईले ३.१ ओभरमा २९ बनाएको थियो । त्यसलगत्तै यूएईको दोस्रो विकेटका रुपमा अर्का ओपनर मुहम्मद वसिम पेभेलियन फर्किएका थिए । कप्तान समेत रहेका वसिम २६ रन बनाउँदै आउट भएका थिए ।

उनलाई सोमपाल कामीले करण केसीद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि वसिमले १६ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए । उनी आउट हुँदा यूएईले ३.३ ओभरमा ३० रन बनाएको थियो । यूएईको तेस्रो विकेट स्पिनर सन्दीप लामिछानेले लिएका थिए । उनले यूएईका ब्याट्सम्यान आसिफ खानलाई एलबीडब्लूको धरापमा पारेका थिए । आसिफ खानले पेभेलियन फर्किनुअघि १४ बलको सामना गरी एक चौकाको मद्दतले १३ रन बनाएका थिए । उी आउट हुँदा यूएईले १० ओभरमा ६२ रन बनाएको थियो ।

यूएईको चौथो विकेट कुशल मल्लले लिएका थिए । उनले यूएईका ब्याट्सम्यान एलिसन सराफुलाई सोमपाल कामीद्वारा क्याच गराएका थिए । एलिसनले १४ बलको सामना गरी तीन चौकाको मद्दतले १६ रन बनाएका थिए । उनी आउट हुँदा यूएईले १३.४ ओभरमा ८८ रन बनाएको थियो । यूएईको पाँचौँ विकेट कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले यूएईका ब्याट्सम्यान अली नासिरलाई चार रनको ब्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । नासिर आउट हुँदा यूएईले १५.५ ओभरमा एक सय रन बनाएको थियो ।

यूएईको छैठौँ विकेट स्पिनर सन्दीप लामिछानेले लिएका थिए । उनले यूएईका ब्याट्सम्यान बासिल हमिदलाई एक रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । सन्दीपले उनलाई गुल्सन झाद्वारा क्याच गराएका थिए । उनले ब्यक्तिगत रुपमा लिएको यो दोस्रो विकेट थियो । उनी आउट हुँदा यूएईले १७.१ ओभरमा एक सय १८ रन बनाएको थियो । यूएईका नवौँ नम्बरका ब्याट्सम्यान जुनैद सिद्धकी भने तीन रनको ब्यक्तिगत स्कोरमा रन आउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply