सौराहामा कोरोना महामारीपछि रोकिएको हात्ती महोत्सव पुनः सुरू

सौराहामा कोरोना महामारीपछि रोकिएको हात्ती महोत्सव पुनः सुरू हुने भएको छ।

क्षेत्रीय होटल संघ नेपाल चितवनले आयोजना गरेको हात्ती महोत्सवमा यसपटक हात्तीहरूको दौड र छावाहरूको फुटबल प्रतियोगिता नहुने क्षेत्रीय होटल संघ नेपाल चितवनका उपाध्यक्ष एवं महोत्सवका संयोजक ओमप्रकाश पाण्डेले जानकारी दिए।

उनका अनुसार महोत्सव पुस १० देखि १४ गतेसम्म हुनेछ।

‘महोत्सवमा पर्यटकले मनोरञ्जन लिन सकून् र महोत्सवमा हुने गतिविधिका कारण हात्तीलाई दुःख नहोस् भनेर यसपटक हात्तीको दौड र छावाहरूको फुटबल प्रतियोगिता राखेका छैनौं,’ उनले भने, ‘विगतमा हात्ती महोत्सव मात्रै भन्ने गरिएकोमा यसपटक ‘हात्ती तथा पर्यटन महोत्सव’ पनि भनेका छौं।’

महोत्सवमा हात्तीलाई दौडाएर कष्ट दिने गरेको, छावाहरूलाई फुटबल खेलाई दुःख दिएको भन्दै पशु अधिकारकर्मीहरूले यसअघि विरोध गर्दै आएका थिए।

यसपटक महोत्सवमा हात्तीहरूको श्रृंगार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको दिनचर्याको बारेमा जानकारी दिने कार्यक्रम गर्ने योजना भएको संघका अध्यक्ष गंगा गिरीले बताइन्।

गिरीका अनुसार महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगता, पर्यटनको सम्भावना, चुनौतीबारे अन्तरक्रिया, स्थानीय भेषभूषा, कला, संस्कृतिको प्रदर्शन र स्थानीय उत्पादनको प्रवर्द्धन तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिने छ।

‘हात्तीबिना चितवन पर्यटनको कल्पना समेत गर्न सकिँदैन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरसम्म सौराहामा हुने पर्या-पर्यटनका गतिविधि, स्थानीय उत्पादनको बजारीकरणको प्रचारप्रसार गर्न महोत्सव आयोजना गरिएको हो।’ क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलिया भने हात्ती महोत्सवले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रचार गर्दै आएको बताए।

उनका अनुसार महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ लम्ब्याउन सहयोग गर्ने छ।

चितवन राष्ट्रिय निकुञ्जभित्र टाइगर टप्स जंगल लज अस्तित्वमा रहँदा मेघौलीमा अन्तर्राष्ट्रिय हात्ती पोलो प्रतियोगिता हुने गरेको थियो। उक्त प्रतियोगितामा विभिन्न देशका टिमहरू सहभागी हुने गरेका थिए। त्यसपछि सौराहामा हात्तीका अन्य गतिविधिहरू प्रदर्शन गर्ने गरी अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिताको सुरूवात गरिएको थियो।

यस्तै, संघका सचिव महेश खनालले हात्ती पोलोले जस्तै हात्ती महोत्सवले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान स्थापित गरेको बताए।

उनका अनुसार कोरोना महामारीअघि महोत्सव हेर्न भनेर थुप्रै विदेशी पर्यटकहरू नेपाल आउने गर्थे।

‘कोरोना महामारीले पर्यटन व्यवसायमा ठूलो असर गर्‍यो। महोत्सव स्थगित भयो,’ उनले भने, ‘ २०७६ सालपछि गर्न लागिएको हात्ती महोत्सवले पहिलेकै झल्को दिने अपेक्षा गरेका छौं।’

चितवनमा हुन लागेको हात्ती महोत्सवको १७ औं संस्करण हो।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर सन् २००४ मा सुरू गरिएको हात्ती महोत्सव १६ वर्षसम्म लगातार आयोजना गरिएको थियो। तर पछिल्लो चार वर्षयता महोत्सव हुन सकेको थिएन।

महोत्सवका सह-आयोजक यूनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन छन्।

चितवनमा अहिले ६० वटा सरकारी र ६० वटा निजी हात्तीहरु छन्। निजीमध्ये तीमध्ये २९ वटाले पर्यटकलाई बोकेर सामुदायिक वनहरू घुमाउँछन्। ती हात्तीको सञ्चालन यूनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply