लुम्बिनीमा ‘लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ :

३ फागुन धनगढी
लुम्बिनी प्रदेश सरकारको आयोजनामा रुपन्देहीको लुम्बिनीमा हुने चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ तयारी तीव्र पारिएको छ । फागुन २८ र २९ मा हुने सम्मेलनमा ९ जना नोबेल पुरस्कार विजेताहरू सहभागी हुँदैछन् । नेपालमै पहिलोपटक हुन लागेको सम्मेलनको तयारी तीव्र बनाएको आयोजक पक्षले जनाएको छ । अमेरिकामा सचिवालय रहेको लिडर्सको स्टेरिङ कमिटीमा सन् २०१४ का नोबेल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीसहित ९ जना रहेका छन् । उनै सत्यार्थीले यो सम्मेलनको संयोजन पनि गरिरहेका छन् । बालबालिकामाथि हुने सबै खाले विभेद अन्त्य गर्न साझा अवधारणा बनाएर बालबालिकाको विकास, संरक्षण र शान्तिको सन्देश दिने उद्देश्यले सम्मेलन गर्न लागिएको हो ।

सङ्घीय सरकारको स्वीकृति र मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश सरकारको आयोजना र व्यवस्थापनमा फागुन २८ देखि २९ गते (मार्च ११ देखि १३) सम्म लुम्बिनीमा शिखर सम्मेलन हुन लागेको लुम्बिनी मुख्यमन्त्री कार्यालयका सचिव एवं कार्यक्रम प्रदेश संयोजक सुमन घिमिरेले रातोपाटीलाई बताए ।

सम्मेलनको तयारीबारे आवश्यक परामर्श गर्न मुख्यमन्त्रीसहित प्रदेश सचिव राधिका अर्याल लगायतको टोली काठमाडौँ पुगेको छ । टोलीले प्रधानमन्त्रीसहित अर्थ र गृहमन्त्रीसँग भेटघाट गर्नेछ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालमा पहिलोपटक हुन लागेको सम्मेलन सफल पार्न चुनौतीपूर्ण भएकाले व्यवस्थापनमा विशेष ध्यान दिनुपरेको बताए ।

‘भारतमा प्रवीण मुखर्जीले राष्ट्रपति भवनमा यो सम्मेलन गर्नुभएको थियो । नेपालमा हामीले काठमाडौँबाहिर गरिरहेका छौ । त्यसैले सम्मेलन सफल पार्न धेरै विषयमा ध्यान दिनुपर्ने हुन्छ’, मुख्यमन्त्री चौधरीले रातोपाटीसँग भने, ‘यसकारण पनि सङ्घीय सरकारसँग समन्वयन गरेर काम गरिरहेका छौ ।’

परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित १३ सदस्यीय व्यवस्थापन समिति र प्रदेश सरकारका मन्त्रीहरू सहभागी विभिन्न उपसमितिको जिम्मेवारीमा छन् । प्रदेशका कार्यक्रम संयोजक एवं मुख्यमन्त्री कार्यालयका सचिव सुमन घिमिरेका अनुसार ती पाहुनाहरूको टिकटक, आवास र सुरक्षाका लागि गृह मन्त्रालयसँगको समन्वयनमा भइरहेको छ ।

सम्मेलनमा को को हुँदैछन् सहभागी ?
सम्मेलनमा नौ जना नोबेल विजेता सहभागिता हुनेछन् । विश्वकै प्रतिष्ठित नोबेल शान्ति पुरस्कार विजेताहरू सन् २०१५ का अब्देससतार वेन मौसा र विदेद बुसामावुई, २०१४ का भारतका कैलाश सत्यार्थी, २०१३ का विजेता एरी वार्सल, २०११ का विजेताद्वय लेहम बोवी र टवाको कम्र्यान, सन् १९९७ का जोडी विलियम्स, १९९६ का जोजे रामोस ओर्टा र १९९३ का नोबेल शान्ति पुरस्कार विजेता रिचर्ड रोबर्ट्स सहभागी हुनेछन् । उनीहरूको संयोजन भारतका कैलाश सत्यार्थीले गरेका छन् ।

लुम्बिनीको विकासमा सहयोग पुग्छ : मुख्यमन्त्री चौधरी

सम्मेलन सम्पन्न गर्न प्रदेश सरकारले ६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सम्मेलनका क्रममा लुम्बिनी प्रदेशको विकास, सम्भावना र स्रोतको व्यवस्थापनबारे विकासोन्मुख राष्ट्रका प्रतिनिधिहरूसँग प्रदेश सरकारको छुट्टै नीतिगत छलफल गर्नेछ ।

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्मेलनस्थल लुम्बिनी छनोट गर्नुमा विश्वमै शान्तिस्थल भनेर चिनिएकाले तय गरिएको बताए । शान्ति र करुणाको सन्देश दिने ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक स्थल लुम्बिनीको ब्रान्डिङ गर्न यो सम्मेलन साधक हुने मुख्यमन्त्री चौधरीको विश्वास छ ।

‘नेपालको आर्थिक विकासमा विकास साझेदारहरू लुम्बिनी खोज्दै आउने वातावरण तयार हुनेछ  । उनीहरूले थप लगानी गर्ने छन् । त्यसबारेमा सम्मेलनमै विभिन्न सेसन चल्नेछन्’, उनले मुख्यमन्त्री चौधरीले भने, ‘लुम्बिनीलाई विश्व बजारमा ब्रान्डिङ गर्ने मुख्य उद्देश्य सम्मेलनको मुख्य उद्देश्य हो ।’ उनले नेपालको आर्थिक विकास र लुम्बिनीको पर्यटन विकासमा सम्मेलनले दीर्घकालीन योगदान गर्ने दाबी समेत गरे ।

पर्यटन क्षेत्रमा ठुलो प्रभाव छाड्छ : अध्यक्ष जोशी

सम्मेलनमा आउने नोबेल पुरस्कार विजेताहरूलाई लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गराउने योजना रहेको पर्यटन विकास परिषद् लुम्बिनीका कार्यकारी निर्देशक राजु जोशीले बताए । ‘पाल्पा, प्युठानको स्वर्गद्वारी र बर्दियाका केही स्थानको भ्रमण गराउने तयारी छ । नोबेल विजेतासँग नेपाली तथा अन्तर्राष्ट्रिय मिडियाकर्मीहरू पनि लैजाने योजना छ’, अध्यक्ष जोशीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply