लुम्बिनी प्रदेशका राप्रपा सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

८ फागुन धनगढी
लुम्बिनी प्रदेशका राप्रपा सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कपिलवस्तु क्षेत्र नम्बर ३ (२) का सांसद यादवसहित १९ जनाविरूद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याएर भ्रष्टाचार गरेको आरोपमा काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले कटान गरेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।

आर्थिक वर्ष २०७४/०७५ मा ठेकेदार समेतले ६ वटा कटान प्लटहरूको ३७ हजार क्यूफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराएको अख्तियारले जनाएको छ।

कर्मचारीहरूसँग मिलेमतो गरी केही काठ लुकाएर नजिकैको स-मिललाई बिक्री गरी अनियमितता गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

उक्त उजुरीपछि अख्तियारले थालेको अनुसन्धानबाट २९ लाख १२ हजार १९३ रुपैयाँ भ्रष्टाचार भएको पाइएको प्रवक्ता घिमिरेले बताए।

६ वटा कटान प्लटहरूमा विभिन्न जातका ८०३ वटा रूखहरूमा छपान भएको थियो। जसमध्ये ८०१ वटा रूख काटिएका थिए। त्यसको नापजाँचको आधारमा ३५ हजार ७७८.१० क्युफिट काठ र ४९.२३ चट्टा दाउरा संकलन हुनुपर्ने अख्तियारले जनाएको छ।

तर मिलेमतोमा नापजाँच मूल्यांकन परिमाणभन्दा कम परिमाणमा काठ उत्पादन संकलन भएको देखाएको पाइएको हो।

ठेक्का पाएको गोरखा मनकामना काष्ठ फर्निचर उद्योग काठमाडौंले संकलन उत्पादन गर्न लिएको प्लटबाट काठ-दाउरा, फाएरलाइन-१, ढलापडा प्लट र फाएरलाइन-२ को गरी चार वटै प्लटबाट ९ लाख ३९ हजार १३५ रुपैयाँ बराबरको हिनामिना गरेको देखिएको हो।

त्यसैगरी ए आर काठ दाउरा खरिद बिक्री सेन्टर काठमाडौंले संकलन उत्पादन गर्न ठेक्का लिएका दुई वटा प्लटमा सम्झौता भन्दा कम परिमाणमा काठ उत्पादन भएको देखाएर भ्रष्टाचार गरेको देखिएको हो।

दुई प्लटबाट १९ लाख ७३ हजार ५८ रुपैयाँ बराबरको वन पैदावर हिनामिना भएको प्रवक्ता रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसरी ६ वटा प्लटमा १९ जनाको मिलेमतोमा २९ लाख १२ हजार १९३ रुपैयाँ बराबरको वन पैदावर हानिनोक्सानी भएको भन्दै कैद तथा सजायको मागदाबी भएको हो।

को-कोविरूद्ध भयो मुद्दा दायर?

अख्तियारले राप्रपाबाट निर्वाचित प्रदेश सभा सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरूद्ध मुद्दा दायर गरेको हो।

तत्कालीन समयमा यादव गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष/संयोजक थिए।

उनीसँगै तत्‍कालीन कपिलवस्तु जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन इकाइका तत्कालीन संयोजक वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रहमदेव महतो, रेन्जर हेमराज पण्डित र सहायक वन अधिकृत शिवशंकर प्रसादविरूद्ध मुद्दा दायर भएको छ।

त्यस्तै प्रदेश वन निर्देशनालय रूपन्देशीका सहायक वन अधिकृत टोलकराज चापागाई, सब-डिभिजन वन कार्यालय गुगौली कपिलवस्तुका सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेशकुमार थारू, सहायक वन अधिकृत नागेन्द्रप्रसाद सिंह राजपुत, वन रक्षकहरू सन्जय थारू, संजय केवट, रामगोपाल त्रिपाठी, बासुदेव गोडिया र फरेष्टर रमतु चौधरीविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो।

गोदियाले अवकास प्राप्त गरिसकेका छन्।

उनीहरूविरूद्ध अख्तियारले २९ लाख १२ हजार १९३ रुपैयाँ बिगो मागदाबी गरेको छ। उक्त बिगो असुल गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजायको मागदाबी समेत गरेको छ।

उक्त ऐनको दफा १७ बमोजिम बिगो असुल गर्न मागदाबी गरेको हो। अख्तियारले उनीहरूलाई चार वर्षदेखि ५ वर्षसम्म कैद सजाय समेतको मागदाबी गरेको हो।

अख्तियारले गोरखा मनकामना काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरे र एआर काठ दाउरा खरिद बिक्री सेन्टरका प्रोप्राइटर गीता जिसीविरूद्ध पनि मुद्दा दायर गरेको छ।

घिमिरेसँग अख्तियारले ९ लाख ३९ हजार १३५ रुपैयाँ बिगो जफत गर्न माग गरेको हो। त्यस्तै जिसीबाट १९ लाख ७३ हजार ०५८ रुपैयाँ जफत गर्न माग गरेको हो।

दुबै जनालाई कसुरको मात्राअनुसार दुई वर्षसम्म कैद वा बिगो बमोजिम जरिवाना गरी बिगो असुल गर्न पनि मागदाबी गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply