आज महाशिवरात्रि पर्व

२५ फागुन धनगढी
शुक्रबार महाशिवरात्रि पर्व मनाइँदै छ।

महाशिवरात्रि पर्वका अवसरमा देशभरका शिवालयहरूमा भगवान् शिवको विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।

आज पाशुपत क्षेत्रमा भगवान् शिवको विशेष अनुष्ठान र पूजा अर्चना हुनेगर्छ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरूमा दर्शनार्थीहरुको घुइँचो छ ।

आज भक्तजनहरू व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजाअर्चना गर्छन्। आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाइ भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ खाने पनि चलन रही आएको छ

महाशिवरात्रिलाई गुठी संस्थानको ४० लाख विनियोजन
गुठी संस्थानले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि ४० लाख खर्च हुने जनाएको छ। महाशिवरात्रि पर्वको तयारीबारे संस्थानको त्रिपुरेश्वरस्थित प्रधान कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा संस्थानका अध्यक्ष शिवराज पण्डितले गुठीको करिब १५ करोड बजेटमध्ये महाशिवरात्रिमा प्रत्येक वर्ष करिब ४० लाख खर्च हुने गरेको बताए।

‘महाशिवरात्रि पर्वलगायत जात्रा पर्वमा संस्थानको वार्षिक बजेटको करिब २० प्रतिशत खर्च गर्ने र जनशक्ति पनि लगानी गरेको संस्थानको कामको प्रचारप्रसार हुन सकेन,’ पण्डितले बताए।

अध्यक्ष पण्डितले संस्कृति, परम्परा र सम्पदाको संरक्षण प्रवर्द्धनमा भूमिका खेल्दै आएको गुठी संस्थानले आन्तरिक स्रोतबाटै जात्रा पर्व व्यवस्थापनको कार्य गर्दै आएको बताए।

देशभरका राज गुठीअन्तर्गत करिब दुई हजार तीन सय गुठीमध्ये सात सय १७ देवस्थलहरुको साविक परम्परा बमोजिमका पर्व, पूजा, जात्रा, लगायतका धार्मिक तथा सांस्कृतिक कार्यको सञ्चालन व्यवस्थापनको जिम्मेवारी संस्थानले गर्दै आएको छ। उपत्यका बाहिरका विवाह पञ्चमी, राम नवमी, झुला पर्व, मिथिल्ला परिक्रमा, मनकामना पर्व, उपत्यकाभित्रका महाशिवरात्रि पर्व, रातो मच्छिन्द्रनाथ, सेतो मच्छिन्द्रनाथ, इन्द्रजात्रा, विस्केटजात्रा, हाडीगाउँको जात्रा, मङ्गामाईको जात्रा, गुह्ेयश्वरीको जात्र, महास्ना पर्व, महाकाली जात्रा, चाँगु नारायणको जात्रा, राष्ट्रिय महत्वका जात्रा पर्व हुन्।

गुठी संस्थानले साधु सन्त महन्त, पुजारी, सुरक्षा निकाय पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा पशुपति क्षेत्रमा रहेका साधुसन्तका लागि ४९ हजार किलो र कालमोचन क्षेत्रमा रहेका साधु सन्तका लागि तीन हजार किलो दाउरा खरिद, उनीहरुको भोजनको प्रबन्ध तथा धुनीका लागि ठाउँ तयार पारेको बताएको छ।

महाशिवरात्रि पर्व सञ्चालन तथा व्यवस्थापनका लागि मूल समिति गठन गरी पशुपति क्षेत्रमा जनशक्ति खटाइएको छ। साधु, सन्त महन्तलाई शिवरात्रि अवधिभर विभिन्न स्थानमा धुनी ताप्ने दाउरा, भोजन, जलपानको व्यवस्था गरिएको संस्थानले जनाएको छ।

आजै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले आफ्नो स्थापनाको २६१ औं वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाउँदै छ।

राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको र त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply