कोशी प्रदेशमा अत्याउँदैछ आगोले, एकैदिन जले ४६ घर

चैत ०४ धनगढी
सुख्खायाम सुरू भएसँगै कोशी प्रदेशका पहाडी तथा तराईका जिल्लाहरूमा आगलागीका घटना ह्वात्तै बढेका छन्।

आइतबार मात्रै तेह्रथुम र सुनसरीमा दर्जनौं घर जलेर सर्वसाधारणको उठिबास भएको छ।

तेह्रथुमको फेदाप गाउँपालिका-१ मा आइतबार दिउँसो भएको आगलागीबाट १९ वटा घर जलेर नष्ट भएको घटना नसेलाउँदै सुनसरीको बर्जुमा पनि आगलागीमा परेर २७ भन्दा बढी घर नष्ट भएका छन्।

विराटनगरसँगै जोडिएको बर्जु गाउँपालिका–४ स्थित जयनगर टोलमा आइतबार दिउँसो भएको आगलागीमा २७ घर जलेको र अरू केही घरमा क्षति भएको सुनसरी प्रहरीले जानकारी दिएको छ।

बर्जुको जयनगरस्थित मुस्लिम टोलमा ३ बजेपछि स्थानीय बिष्णुदेव पोद्धारको घरबाट सुरू भएको आगो बस्तीमा फैलिएपछि धेरै क्षति भएको हो।

घरहरू टाँसिएका कारण बस्तीभरी आगो फैलिएको बर्जु-४ का वडाध्यक्ष विनोदबहादुर गुरुङले जानकारी दिए।

कोशी प्रदेशमा पछिल्ला दुई दिनमा मात्रै डढेलो र आगलागीले ठूलो क्षति भइसकेको प्रदेश प्रहरी कार्यालयमा एसपी दीपक पोखरेलले जानकारी दिए।

भोजपुरको हतुवागडी गाउँपालिका–७ मा शनिबार साँझ करिब ६ बजेतिर भएको आगलागीमा परी एकै घरका तीन बालबालिकाको ज्यान गएको थियो।

त्यस्तै शनिबार राति १२ बजेतिर मोरङको पथरीशनिश्चरे–१ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा आगलागी हुँदा एक करोड ५० लाख बराबरको क्षति भएको छ।

शनिबार दिउँसो मोरङकै रङ्गेली नगरपालिका–३ बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेका छन्। त्यहाँ रहेका २५ परिवार पूर्ण रूपमा विस्थापित भएका छन्।

यसैगरी उदयपुर रौतामाई गाउँपालिका–३ भोर्लेनीस्थित नवउदय सामुदायिक वनबाट बस्तीमा आगो सल्किएपछि त्यहाँ ६ वटा घर गोठ जलेका छन्।

शनिबारमात्रै तेह्रथुम, ताप्लेजुङ, झापा, धनकुटा, खोटाङमा पनि डढेलो र आगलागीका घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यसपालि हिउँदमा पानी कम परेकाले पनि देशभर सुक्खा बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply